कञ्चनपुरमा काँग्रेसद्वारा ‘जनताको साथमा काँग्रेस’ अभियान सञ्चालन

कञ्चनपुर । नेपाली काँग्रेसले कञ्चनपुर क्षेत्र नम्बर १ मा समेत ‘जनताको साथमा काँग्रेस’ अभियान सञ्चालन गरेको छ ।
सोमबार कञ्चनपुर क्षेत्र नम्बर १ को २ अन्तर्गत बेलौरीमा र क्षेत्र नम्बर १ को १ अन्तर्गत पुनर्वासमा अभियान सञ्चालन गरिएको छ । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको उक्त अभियान सञ्चालन गरेको हो ।
नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि तथा पूर्व मन्त्री राम जनम चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्ने प्रायः जसो सबै वक्ताहरूले कञ्चनपुरमा कुनै किसिमको गठबन्धन नगरी नेपाली काँग्रेस एक्लै चुनावमा जानुपर्ने बताउनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका नेता पूर्व सांसद एवम् संविधानसभा सदस्य दिवान सिंह बिष्टले अन्यत्र गठबन्धन भए पनि कञ्चनपुरमा गठबन्धन गर्न नहुने धारणा राख्नुभयो ।
नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा कञ्चनपुरका अधिकांश पालिकामा नेतृत्व गर्ने मौका पाएको स्मरण गराउँदै नेता बिष्टले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जाने र सबै सिट जित्ने दाबी गर्नुभयो ।
उहाँले नेकपा माओवादी केन्द्रकी नेतृ तथा प्रतिनिधिसभा सदस्य बिना मगरप्रति लक्षित गर्दै विकासको नाममा सिन्को समेत भाँच्न नसक्नेलाई नेता स्विकार्न नसकिने बताउनुभयो ।
पार्टी भित्रका नेता कार्यकर्ताहरूलाई समेत उहाँले कुनै किसिमको गुटबन्दी नगरी एकताबद्ध भएर जनताको माझमा जान आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधि राम जनम चौधरीले नेपाली काँग्रेसभित्र गुटबन्दी नरहेको सन्देश सबै कार्यकर्ता समक्ष पुर्याउन अनुरोध गर्नुभयो ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा कुनै किसिमको गठबन्धन गर्न नहुने भन्ने सन्देश जस्ताको त्यस्तै केन्द्रीय समिति समक्ष पुर्याउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कञ्चनपुर क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका करिब २५ हजार, एमालेका २० हजार र माओवादी केन्द्र तथा एकीकृत समाजवादीका जोडेर १७ हजार जति मतदाता अनुमान गरिएको जानकारी प्राप्त गरेको सुनाउनुभयो ।
यद्यपि पछिल्लो समयमा एकीकृत समाजवादीका अधिकांश नेता कार्यकर्ताहरू एमालेमा फर्किसकेकोले अब माओवादीसँग ११ हजार जति मतदाता मात्रै रहेको र काँग्रेससँग त्यसभन्दा दोब्बर मतदाता भएको हुँदा काँग्रेसले नै नेतृत्व पाउनुपर्ने नेता चौधरीले विश्लेषण गर्नुभयो ।
उहाँले नागरिक उन्मुक्ति पार्टीले थारु समुदायलाई इमोस्नल ब्ल्याक मेल गरिरहेको आरोप समेत लगाउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्