तपाईँ सुन्दै हुनुहुन्छः

यार्सागुम्बा उत्पादन उर्वर क्षेत्रलाई संरक्षण गर्ने सरकारको उद्देश्य: मन्त्री बडू

दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिम सहित देशभरिमा हिमाली जिल्लामा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा उत्पादन उर्वर क्षेत्रलाई संरक्षण गर्ने सरकारको उद्देश्य रहेको बताउनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र दार्चुलाको मार्मा गाउँपालिकाबिच भएको ‘निजी क्षेत्रको सहभागितामा दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रस्थित लटिनाथ, मार्मामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना’ गर्न सहयोग आदानप्रदान सम्बन्धी समझदारी पत्रमा आइतबार हस्ताक्षर गर्दै मन्त्री बडूले दार्चुलाको अपि नाम्पा क्षेत्रसहित हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको थप अध्ययन तथा अनुसन्धानसहित त्यहाँका उर्वर क्षेत्रलाई संरक्षण गरिने उल्लेख गर्नुभयो ।

मन्त्री बडूले यार्सागुम्बालाई कसरी संरक्षण गर्ने, हाम्रो मुलुकमा यसको कसरी प्रशोधन गर्ने अनि यार्सा सङ्कलक, व्यापारी तथा सरकारलाई राजस्वसहित कसरी फाइदा पुग्छ भन्नेतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो ।

यार्सागुम्बा अध्ययन तथा अनुसन्धानका लागि विज्ञसहितको टोली यार्सा पाइने सुदूरपश्चिमका हिमाली जिल्लासहित देशैभरि पठाउने मन्त्रालयको उद्देश्य रहेको मन्त्री बडूले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले नेपाल चिनाउने विभिन्न जडीबुटीमध्ये यार्सागुम्बा पनि एक भएको र विश्व बजारमा पुर्‍याउन खासै खर्च नलाग्ने भएकाले यार्सागुम्बा नेपाली ब्राण्ड हो भनेर लोगोसहित विदेश पठाउनका लागि मन्त्रालय लागि परेको जानकारी दिनुभयो ।

कार्यक्रममा मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले दार्चुलाको हिमाली भेगमा पाइने यार्सागुम्बाका विषयमा अध्ययन अनुसन्धान गरी प्रशोधनका लागि कदम चाल्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button