तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरले रोजगारी प्रवर्द्धनका लागि २ हजार युवालाई निःशुल्क तालिम दिने 

चितवन । भरतपुर महानगरपालिकाले यो वर्ष २ हजार जना युवालाई निःशुल्क तालिम प्रदान गर्ने भएको छ ।  

चालु आर्थिक वर्ष ०७९/०८० मा महानगरपालिकाले युवाहरूलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धन गर्नका लागि  एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम ६ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिनुभयो । युवाले इच्छा गरे अनुरुप महानगरपालिकाले प्राविधिक तालिम दिनेछ  ।

भरतपुर बहुप्राविधिक शिक्षालय जगतपुरले आयोजना गरेको २८ दिने बेकरी तालिमको समापन गर्दै कार्यक्रममा बोल्दै मेयर दाहालले रोजगारी प्रवर्द्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको उल्लेख गर्नुभयो ।

तालिमका लागि छिट्टै प्रस्ताव आह्वान गर्ने गरी महानगरपालिकाले प्रक्रिया अगाडि बढाएको उहाँको भनाई छ ।

‘महानगरको नीति तथा कार्यक्रमले उत्पादन र रोजगारीलाई जोड दिएको छ, उहाँले भन्नुभयो,‘उत्पादन वृद्धि गर्ने र लागत घटाउने नीति लिएका छौ । अबको प्राथमिकता उत्पादन र रोजगारी प्रवर्द्धन गर्ने नै हो ।’

मेयर दाहालले भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला, सिटीहल निर्माण सम्पन्न भएसँगै ठुलो सङ्ख्यामा रोजगारी सिर्जना हुने बताउनुभयो । भरतपुरमा भइरहेको शहरीकरणले दक्ष जनशक्तिको माग पनि वृद्धि हुँदै गएको उहाँको भनाई थियो ।

भरतपुर बहुप्राविधिक शिक्षालयले छोटो समयमा धेरै  दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । शिक्षालयले ३ वर्षदेखि सिटिईभिटीको आङ्गिक कलेजका रुपमा स्थापना भई होटल व्यवस्थापनको कक्षा र तालिम सञ्चालन गर्दै आएको छ । 

सो अवसरमा  शिक्षालयले २८ दिने बेकरी तालिम लिने २० जनालाई माइक्रो वेभ ओभनसहित प्रमाण–पत्र वितरण गरिएको छ । सिटिईभिटीको दक्षता परियोजना अन्तरगत कार्यक्रम सञ्चालन भएको तालिम होटल व्यवस्थापन प्रमुख सञ्जीव अर्यालले प्रशिक्षण दिनुभएको थियो । अन्तर्राष्ट्रिय होटलमा प्रयोग गर्ने उपकरणसहित तालिम प्रदान गरिएकाले विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा सहजै रोजगारी पाउने अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button