तपाईँ सुन्दै हुनुहुन्छः

‘अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रन सक्ने खेलाडी बनाउनुपर्छ’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरो रुपमा उत्रन सक्ने बनाउनुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले पछिल्लो समयमा खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी भई मुलुकको नाम उच्च बनाउँदै गएको स्मरण गर्दै अझै सफलता प्राप्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बाबजुद नेपाली खेलकुद क्षेत्रले हालसम्म प्राप्त गरेको उपलब्धि प्रशंसनीय रहेको बताउनुभयो । उहाँले नेपाली खेलाडीले विभिन्न कठिनाइका बाबजुद स्वदेश तथा विदेशमा उत्कृष्ट प्रस्तुति दिँदै आएकोमा पनि खुसी व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी देशका गहना भएको बताउनुभयो । उहाँले देशको शिर उँचो बनाउन खेलाडीले गरेको मेहनत र प्राप्त उपलब्धिको सरकारले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्नुभयो । खेलाडीलाई सम्भव भएसम्म आर्थिक र गैर आर्थिक सुविधाका साथ प्रोत्साहित गर्न सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

खेलाडीको क्षमता विकासका लागि आर्थिक सुधारका अतिरिक्त खेल पूर्वाधार महत्त्वपूर्ण पक्ष रहेको उहाँले बताउनुभयो । उहाँले मुलुकको विभिन्न क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार विकास गर्ने योजना सरकारको प्राथमिकतामा रहेको जानकारी दिँदै खेलाडीलाई नियमित अभ्यास र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणको आवश्यकता औँल्याउनुभयो ।

खेलकुदका क्षेत्रमा राष्ट्रिय स्तरको पूर्वाधार निर्माण गरी क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित मन्त्रालय र राखेपले थप सक्रियता दिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो ।

नियमित खेलकुदका कार्यक्रम आयोजना हुन नसक्दा खेल प्रतिभा पलायन हुनेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले परिषद्को संस्थागत विकासका लागि सरकार प्रयत्नशील रहेको पनि जानकारी दिनुभयो । उहाँले परिषद्ले आफ्ना कमजोरी सुधार गर्दै खेल क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भनी शुभकामना दिनुभयो ।

‘ओलम्पिकमा स्वर्ण विजेतालाई एक करोड ३० लाख दिने गरी कानुनी व्यवस्था हुँदैछ’

समारोहमा युवा तथा खेलकुद मन्त्री महेश्वर जङ गहतराजले राज्यले ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीलाई रु एक करोड ३० लाख पुरस्कार दिने घोषणका लागि राज्यले कानुनी व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

मन्त्री गहतराजले भन्नुभयो, “खेलाडीले अब खेल खेल्दा खाली हात होइन्छ कि भनेर सोच्नुपर्ने अवस्था छैन, राष्ट्रका लागि खेल खेल्ने उनीहरूलाई राज्यले उचित सम्मान र पुरस्कारको प्रबन्ध गर्न लागेको छ, आगामी मन्त्रिपरिषद्बाट पास हुँदैछ ।” उहाँले आगामी एसियन खेलमा स्वर्ण पदक जित्ने खेलाडीले रु ३०/३२ लाख पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिनुभयो ।

केही दिनमा मन्त्रिपरिषद्बाट पारित हुन लागेको राष्ट्रिय खेलकुद परिषद्को नियमावलीमा खेलाडीलाई उक्त पुरस्कार दिने व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री गहतराजले खेलाडीले उच्च मनोबलका साथ राष्ट्रका लागि खेल्दैछौँ, व्यक्तिगत रुपमा पनि खेलबाट राम्रो व्यवस्था हुँदैछ भन्ने कुरालाई आत्मसात् गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो । खेललाई अब सामान्य क्रियाकलापका लागि मात्रै नभएर उद्योग र अन्तर्राष्ट्रिय सम्बन्धका रुपमा विकास गर्नुपर्ने तथा प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै खेल पर्यटनकै रुपमा विकास गर्दै लैजानु जरुरी रहेको उहाँले बताउनुभयो ।

उहाँले खेलकुद भनेको विज्ञान हो भन्दै यसलाई खेलकुद शिक्षाका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्राथमिक तहदेखि नै खेलकुदप्रति लगाव विकास गर्नु आवश्यक रहेको मन्त्री गहतराजको भनाइ थियो । सरकारकाले स्पोर्टस् विश्वविद्यालय बनाउने सोचका साथ नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिँदै उहाँले त्यसले ओलम्पिकसम्मको यात्रालाई सफलतामा पुर्‍याउन मद्दत गर्ने बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button