प्रेस स्वतन्त्रता सेनानी नेपाली पत्रकारिताको जिउँदो इतिहास: प्रदेश प्रमुख मिश्र
जनकपुरधाम । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले नेपालको पत्रकारिता तथा साहित्यको क्षेत्रमा प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निक्कै ठूलो योगदान रहेको बताउनुभएको छ ।

प्रदेश प्रमुख मिश्रले प्रेस स्वतन्त्रता सेनानी नेपालीको ७८ औँ जन्मोत्सवको अवसरमा रविन्द्र स्मृति प्रतिष्ठानले जनकपुरधामको वडा नंं २३ वेलामा आज आयोजना गरेको “राजेश्वर नेपालीको व्यक्तित्व तथा कृतित्व” सम्बन्धी कार्यक्रममा नेपाली पत्रकारिता क्षेत्रको जिउँदो इतिहास रहनुभएको बताउनुभयो ।
उहाँले नेपालीले कठोर पञ्चायत कालमा पनि लोकतन्त्रको स्थापनाका लागि पत्रकारिता मार्फत पुर्याउनुभएको योगदानका कारणले पटक पटक जेलनेल भएको बताउँदै राजेश्वर नेपालीको योगदानको जति प्रशंसा गरेपनि कम हुने बताउनुभयो ।
प्रदेश प्रमुख मिश्रले प्रेस स्वतन्त्रता सेनानी नेपालीको पत्रकारिताको साथै मैथिली तथा हिन्दी साहित्यको क्षेत्रमा भएको योगदान निक्कै महत्त्वपूर्ण भएको बताउनुभयो ।

मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले राजेश्वर नेपाली नेपालको पत्रकारिता जगतको धरोहर भएको बताउँदै उहाँले कठिन समयमा पनि निर्भिक पत्रकारिता गर्नुभएको बताउँदै नयाँ पुस्ताको लागि प्रेरणाको श्रोत भएको बताउनुभयो ।
रविन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिका वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान दिनुभएका वरिष्ठ पत्रकार, साहित्यकार, कलाकार, समाजसेवी, सन्त महन्तसहित ७८ जनालाई प्रदेश प्रमुख मिश्रले सम्मानित गर्नुभएको थियो ।
मैथिली साहित्यमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर गर्नुभएका राजेश्वर नेपाली अहिले पनि नेपाली पत्रकारितामा सक्रिय हुनुहुन्छ । लोकमत हिन्दी साप्ताहिक पत्रिकाको नियमित सम्पादनसहित प्रकाशन गर्दै आउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्