तपाईँ सुन्दै हुनुहुन्छः

वनमन्त्री यादवद्वारा मन्दिर र विवाह भवनको उद्घाटन

वीरगञ्ज ।  वन तथा वातावरण मन्त्री प्रदीप यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गर्नुभएको छ ।

शनिबार गृह नगर वीरगञ्ज पुग्नुभएका मन्त्री यादवले वीरगञ्ज–१५ स्थित भिषवामा निर्मित शितलामाई मन्दिरको उद्घाटन गर्नुभएको हो ।

त्यसैगरी मन्त्री यादवले सोही वडाको भिषवा र भेडियाहीमा निर्मित विवाह भवनको पनि उद्घाटन गर्नुभएको छ ।

मन्त्री यादवको निर्माणपश्चात् मन्दिरको सुन्दरता बढ्नुका साथै त्यहाँ पुग्ने श्रद्धालुहरूलाई पूजाअर्चनामा सहजता हुने विश्वास व्यक्त गर्नुभयो । 

विवाह भवनले स्थानीयहरूलाई विवाह लगायतका धार्मिक, सांस्कृतिक र पारम्परिक कार्यक्रमहरू गर्न सहयोग गर्ने पनि उहाँले बताउनुभयो ।

मन्त्री यादवको संसदीय कोषको १५ लाख रुपैयाँको लागतमा मन्दिर र ३०÷३० लाख रुपैयाँको लागतमा विवाह भवन निर्माण भएको हो ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार (अजय), वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, जिल्ला समन्वय समितिका पूर्व सभापति एवम् जनता समाजवादी पार्टीका नेता नेक महोम्मद मियाँ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादवलगायत स्थानीय, बुद्धिजीवी, नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button