मङ्गलसेन बहु प्राविधिक शिक्षालयमा एच ए पढ्न १४७ जनाले परीक्षा दिए
अछाम । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको आङ्गिक शिक्षालय मङ्गलसेन बहु प्राविधिक शिक्षालयमा एच ए अध्ययनका लागि १४७ जनाले परीक्षा दिएका छन् ।
यसै वर्षदेखि सञ्चालनको अनुमति पाएको शिक्षालयको ४० कोटाका लागि १४७ जनाको आवेदन परेको र छनौटका लागि उनीहरूको परीक्षा लिइएको समन्वय गरिरहेको मङ्गलसेन नगरपालिकाका प्रशासन प्रमुख विष्णुप्रसाद जैसीले बताउनुभयो ।
सिटीईभिटीले चालू आर्थिक वर्ष २०७९/८० का लागि सामान्य चिकित्सा एच ए पठनपाठनका लागि स्वीकृति दिँदै ४० जना विद्यार्थीको कोटा निर्धारण गरेको थियो ।
जिल्लामै पहिलो पटक पठनपाठन सुरु भएको सामान्य चिकित्सामा अध्ययनका लागि उत्साहजनक सहभागिता रहेको मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बोहराको भनाइ छ ।
उनीहरूको छनौटका लागि परीक्षा सञ्चालन गरि कापी जाँचका लागि सिटीईभीटीमा पठाइएको र उत्कृष्ट नतिजा ल्याउने ४० जनालाई छनौट गरिने बताइएको छ ।
एसइई उत्तीर्णले आवेदन दिन पाउने भए पनि पढ्ने लक्ष्य भई बाहिर गएर पढ्न नपाएका कक्षा १२ तथा स्नातक पढिरहेका र पढिसकेकाले पनि आवेदन दिएका नगरपालिकाका प्रशासन प्रमुख जैसीको भनाइ छ ।
जिल्लामै एच ए अध्ययनको अवसर पाएपछि यश क्षेत्रका विद्यार्थी निकै खुसी भएका छन् ।
हाललाई अछाम बहुमुखी क्याम्पसको ९ कोठे भवनको पूर्वाधार प्रयोगमा ल्याउने र अछाम जिल्ला अस्पताल तथा वयालपाटा अस्पतालका जनशक्ति समेत प्रयोगमा ल्याइने सीटीईभीटी सुदूरपश्चिम प्रदेश निर्देशक डाक्टर कुस्माखर भट्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्