थुलुङ दूधकोशी गाउँपालिकाका करिब सात सय बालबालिकालाई कपडा वितरण

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका करिब सात सय विद्यार्थीलाई कपडा र जुत्ता वितरण गरिएको छ ।
थुलुङ दूधकोशी गाउँपालिकाका वडा नम्बर १ र २ का २१० जना र वडा नम्बर ७ र ८ का ४८४ जना बालबालिकालाई ट्रयाकसुट र जुत्ता वितरण गरिएको हो ।

विगत लामो समयदेखि सोलुखुम्बुको शैक्षिक क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री उपलब्ध गराएर पठनपाठनमा सहयोग गर्दै आएको गैरसरकारी संस्था देलेक चिल्ड्रेन फाउन्डेशन यूएसए र शेर्पा बालबालिका सहायता सङ्घले त्यस क्षेत्रका विद्यार्थीहरूलाई जुत्ता र ट्रयाकसुट वितरण गरिएको शेर्पा बालबालिका सहायता संघका अध्यक्ष निमा शेर्पाले जानकारी जानकारी दिनुभयो ।
दूधकौशिका माध्यमिक विद्यालय, सरस्वती आधारभूत विद्यालय, अम्रास आधारभूत विद्यालय र शिशु कल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई जुत्ता वितरण गरिएको छ भने कालिका आधारभूत विद्यालयका ४४ जनालाई ट्रयाकसुट वितरण गरिएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

त्यस्तै, जोगरा क्षेत्रका ३४ जना, रुकुराका २५ जना, सिम खर्कका १५ जना, ठुलो ढुङ्गाका १४ जना, देवी स्थानका ३६ जना, काँगेल बाहुन्डीका ४५ जना बालबालिकाहरूलाई जुत्ता वितरण गरिएको छ भने बोगल क्षेत्रका विद्यार्थीहरूलाई जुत्ता र ट्रयाकसुट वितरण गरिएको छ । बुद्ध आधारभूत विद्यालय घुर्मिसेका ४० जना बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको छ ।

थुलुङ दूधकाशी गाउँपालिकाका अध्यक्ष असिम राईले निःशुल्क स्वास्थ्य शिविर तथा विद्यार्थीहरूलाई जुत्ता, झोला, ज्याकेट लगायतको सामग्री वितरण गरेर गाउँपालिकाको शिक्षामा र स्वास्थ्यमा सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । आफू गाउँपालिको उन्नतिका लागि लागिपरेका बेला यस्ता सहयोगले थप सहज हुने उहाँको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई अध्ययनमा सहज होस् भन्ने उद्देश्यले सहयोग गरिरहेको संस्थाले जनाइएको छ ।
सामग्री पाएपछि न्यून आय स्तर भएका परिवारलाई राहत मिलेको अभिभावकहरूले बताएका छन् । स्थानीय लाक्पा तामाङले यस्ता सहयोगले गाउँघरमा त ठुलै सहयोग पुगेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्