प्रधानमन्त्री कृषि परियोजनाद्वारा विषादी वितरण
जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई धनुषाले जिल्लाको हंसपुर नगरपालिकाका किसानहरूलाई धानका लागि आवश्यक पर्ने विषादी वितरण गरेको छ ।
किसानलाई विषादीप्रति सजग बनाउनका लागि नगरपालिकाको तीन वटा वडामा किटनाशक, ढुसीनाशक, ब्याक्टेरियानाशक विषादीका साथै जिङ्क वितरण गरिएको परियोजनाले जनाएको छ ।

विषादी प्रयोग गरेर नियन्त्रणका लागि उपयुक्त समय रहेको सन्देश दिन नगरपालिकाको सुगामधुकडही, लग्मा तथा वेलहीका १ सय ४ जना किसानलाई विषादी वितरण गरिएको आयोजनाका कृषि प्राविधिक राहुलदेव साहले जानकारी दिनु भएको छ ।
विषादी छर्किन उपयुक्त समय भएको भन्दै जनचेतना फैलाउन तथा किसानलाई जागरूक बनाउन परियोजनाले किसानहरूलाई विषादी निःशुल्क रुपमा प्रदान गरेको परियोजनाका धनुषा प्रमुख, वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनुभयो ।

विषादी नियन्त्रणका लागि अबको १० दिन उपयुक्त समय भएको बताउँदै कृषि प्राविधिक साहले यस वर्ष पानी निक्कै कम परेको र युरियाको अभाव भएका कारण धान पहेँलो हुने तथा फाटफुट रुपमा केही रोगहरू देखिएको पनि जानकारी दिनुभयो ।
परियोजनाले धनुषामा धान जोन कार्यक्रम सञ्चालन गरेको छ । पानी तथा रासायनिक मलको पर्याप्तता नभएका कारण यस वर्ष धानको उत्पादनमा २० देखि २५ प्रतिशत कमी हुने प्रारम्भिक अनुमान परियोजनाको धनुषा कार्यालयले गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्