तपाईँ सुन्दै हुनुहुन्छः

‘केही दिनमै स्वास्थ्य बिमाको समस्या समाधान प्रतिवेदन ल्याउँछौँ’

काठमाडौँ । स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समितिको दोस्रो बैठक शुक्रवार बसेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीको संयोजकत्वमा गठित निर्देशक समितिको दोस्रो बैठक बसेको हो ।

बैठकमा स्वास्थ्य बिमाका प्रशासनिक सुधार, व्यवस्थापकीय पाटोका विषयमा छलफल भएको समितिका सदस्य सचिव नारायण ढकालले जानकारी दिनुभयो ।

बैठकमा राज्यमन्त्री केसीले स्वास्थ्य बिमालाई आम जनतासँग जोड्नुपर्ने र यो कार्यक्रमलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनुभयो । उनले भन्नुभयो, ‘केही दिनमै प्रतिवेदन बाहिर ल्याउँछौँ । बिमा कार्यक्रमलाई आम विमीतसंग जोड्ने र जनजनको कार्यक्रम बनाउन म केन्द्रित छु ।’

स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समिति गठन भएको थियो । गत साउन २६ मा स्वास्थ्य मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले स्वास्थ्य बिमासम्बन्धी समस्या समाधान गर्न स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय स्वास्थ्य बिमा सुदृढीकरण निर्देशक समिति गठन गरेको थियो ।

समितिलाई स्वास्थ्य बिमा कार्यक्रमको अवस्था र चुनौती अध्ययन, विश्लेषण एवं समीक्षा गरी स्वास्थ्य बिमा कार्यक्रममा विद्यमान समस्या समाधानका लागि तीन साताभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button