तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिना र सिपिपिसिसीका अध्यक्षबीच भर्चुअल वार्ता 

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनको १३औँ राष्ट्रिय समितिका अध्यक्ष वाङ्ग याङ्ग  बीच भर्चुअल माध्यमबाट वार्ता भएको छ।

चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय पोलिटिकल ब्युरोका स्थायी कमिटी सदस्यसमेत रहनुभएका याङ्गबीच शुक्रबार भर्चुअल माध्यमबाट भएको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले आगामी १६ अक्टोबरमा हुन गइरहेको चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय कंग्रेसको सफलताको शुभकामना व्यक्त गर्नुभयो। 

‘चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय कंग्रेसले आगामी पाँच वर्षका लक्ष्य एवं कार्यदिशा तय गर्ने भएकोले नेपाल र नेपाली जनताको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि सम्पूर्ण चिनिया जनताको लागि सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नुभयो। सो अवसरमा अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गर्नुभयो।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना कालदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले आजको भर्चुअल बैठकले थप मजबुद बनाउने विश्वास लिएको बताउनुभयो।

कोरोना महामारी र बाढी पहिरोका कारणले नेपाल र चीनको व्यापारमा अवरोध भएको बताउनुहुँदै अध्यक्ष तिमिल्सिनाले तातोपानी र रसुवागढी लगायतका नाकाहरू नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो।

‘कोरोना महामारीका कारण रोकिएको हवाई सेवा छिट्टै नियमित र सहज हुने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, ‘नेपालमा मुख्य चार्डपर्वहरू आइरहेका छन्। यी चार्डपर्वमा चीनमा उत्पादित सामानहरू बढी प्रयोग हुने भएकाले पनि छिट्टो नाकाहरू सञ्चालनका लागिमा सहजिकरणका लागि महामहिममार्फत चिनियाँ सरकारलाई आग्रह गर्दछु।‘ 

दुई देशबीच सम्बन्धलाई प्रगाढ बनाउन उच्च स्तरीय भ्रमण आदान-प्रदान बढाउनुपर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले अध्यक्ष वाङ्गलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नुभयो। उहाँले सिपिपिसिसी र नेपालको राष्ट्रिय सभाबीचको सहकार्य तथा सम्बन्ध बिस्तारमा प्रतिबद्ध रहेको बताउनुभयो।

सो अवसरमा सिपिपिसिसी अध्यक्ष वाङ्गले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रुपमा अरनिको र भृकुटीका समयदेखि सुमधुर तथा कूटनीतिक रुपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गर्नुभयो।

उहाँले दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभ लगायतका सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो।

उहाँहरूले दुई देशको सरकार र संसदबीच सहकार्यका लागि आआफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button