तपाईँ सुन्दै हुनुहुन्छः

फकलालाई जब शहरी मन्त्रीको फोन आयो……

घाम चर्किँदै थियो, लमही–१ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थीहरू शुक्रबारे हाफ छुट्टीका कारण घरघर लागिसकेका थिए । त्यहीँ विद्यालयमा अवस्थित लावाजुनी छात्रावासका मुक्त कमलहरी भने उत्साहित थिए । उत्साहित यस अर्थमा कि मन्त्री आउने खबर समयमै पुगिसकेको थियो र अब उनीहरूको उज्यालो भविष्यको सपना मन्त्री कै हातमा पुगेको थियो । 

लावाजुनी छात्राबासमा बसिरहेका मुक्त कमलहरी किशोरीहरूले जीवनमै पहिलो पटक मन्त्रीसँग भेटघाट गर्दै थिए । त्यसो त यो भेट, भेटघाटको सामान्य उपक्रम मात्र थिएन, २ वर्षदेखि उनीहरूको छात्राबासको ऋण झण्डै तीन लाख पुग्दै थियो । बस्ने, खाने र पढ्ने यी जम्मै कुराको वातावरण बिग्रिएर उत्कर्षमा पुगेको थियो । र तीनै मुक्त कमलहरी किशोरीका समस्या समाधान गर्न नायक बनेर उभिएका थिए सहरी विकास मन्त्री मन्त्री मेटमणि चौधरी । 

सामान्य स्वागत लगत्तै मञ्जिला चौधरीले कार्यक्रम सुरु गरिन् । कार्यक्रमका संयोजन गरिरहेका र झण्डै १८ वर्षदेखि कमलहरी मुक्त अभियानमा सक्रियतापूर्वक जोडिँदै आएका फकला चौधरी बोल्न सुरु गरे, ‘त्यस्तै रातिको पौने एघार बजेको थियो । म भर्खर निद्रामा डुब्न लागेको थिएँ । मोबाइलमा घण्टी बज्यो । यसो हेरेको मन्त्रीज्यूको कल रहेछ । यति राति मन्त्रीज्यूको फोन अचम्म परेँ । तपाईँको स्ट्याटस पढेँ । अहिलेसम्म बैनीहरूको तिर्नुपर्ने ऋण कति छ, खाद्यान्नको कति । जम्मै बुझ्नुस् । म जिम्मा लिन्छु । भोलि नै विद्यालयमा गएर घोषणा गर्दिनुस् । म पर्सि त्यहीँ आउँछु ।’

फकला थारु भावुक देखिए । सम्हालिँदै उनी फेरि बोल्न सुरु गरे, ‘नानीहरूको २ वर्षदेखिको खानपिन, पढाई  अनि उपचार खर्चको ऋण ३ लाख पुग्न लागेको थियो । कमलहरी बैनीहरूको समस्या समाधान गर्न प्रदेश मन्त्री, मुख्यमन्त्री देखि संघीय मन्त्रीका कोठासम्म पुगेँ । ज्ञापन पत्र बुझाएँ । हार गुहार गरेँ तर आजसम्म सबैले आश्वासन मात्र दिए । भन्न बाँकी थियो त सहरी विकास मन्त्रीज्यूलाई मात्र थियो । एक्कासि उहाँले म छु । म समाधान गर्छु भनेपछि हेर्नुस् मन यति हलुको भयो कि म कसरी व्यक्त गरूँ ? अनि म ढुक्कले सुतेँ । मन्त्रीज्यूप्रति विशेष आभार व्यक्त गर्छु ।’ 

अब बोल्ने पालो होस्टेल वार्डेन बृजा चौधरीको थियो । नानीहरूको रेखदेख र स्याहारमा खटिएकी बृजाले आफ्ना कुरा यसरी राखिन्, ‘विद्यार्थी ३२ जना छन् । सरकारले जम्मा १४ जनाको जनही ४ हजार दिन्छ । १० महिनाको पैसा दिन्छ, हामीले १२ महिना पुर्‍याउनुपर्छ । तैपनि समयमा आउँदैन । बेलाबेलामा बिरामी पर्छन् । २ जना सिकल सेलका बिरामी थिए । एउटी त्यही रोगले बितिन् । महँगी बढेको बढ्यै छ । केले खाने, केले पुर्‍याउने, केले उपचार गर्ने निकै गाह्रो अवस्था छ । तनावले गर्दा राम्ररी पढ्न पनि सकेका छैनन् । घर पठाऊँ भने यिनीहरूको घर पनि छैन । आज मन्त्रीज्यू आउँनुभाछ । धेरै खुसी लागेको छ । अब आशा पनि जागेको छ ।’  

मुक्त कमलहरीका तर्फबाट आशा चौधरीले पीडा पोखिन्, ‘खानेकुरा छैन । कापी किन्न गाह्रो छ । औषधी उपचार समयमा पाउन सकेका छैनौँ । बाहिर जाँदा साहुले खाद्यान्नको पैसा माग्छ । निकै गाह्रो छ सर हाम्लाई । सहयोग गर्छु भनेर मन्त्रीज्यू आउनुभयो । हाम्रो दुःख हेर्ने कोही रहेछ जस्तो लागेको छ ।’

सबैका कुरा गम्भीरतापूर्वक सुनिसकेपछि सहरी विकास मन्त्री मेटमणि चौधरी बोल्ने समय आयो ।  ‘तपाईँहरू भाग्यमानी हुनुहुन्छ किनकि यस्तै दुःख पाएका वर्गबाट आएका मानिसहरूले नै दुनियाँ बदलेका छन् । शक्तिशाली भएका छन् । अब्राहम लिङ्कनलाई हेर्नुस्, उनकी आमाले बच्चा पाउने ठाउँसम्म नपाएर मालिकको तबेलामा बच्चा जन्माएकी थिइन् । दाउरा बेचेर बच्चा हुर्काइन् । लिङ्कनले अमेरिका बदले । झमककुमारीलाई हेर्नुस् । सबैले उनलाई हेला गरे तर उनले हिम्मत हारिनन् । ठुलो कुरा आँट हो । हिम्मत हो । पैसा मात्र सब थोक होइन । तपाईँहरू पनि प्रधानमन्त्री, राष्ट्रपति बन्ने सोच राख्नुस् । 

मेरो घरमा पनि खरको छानो नभएको भए, पानी चुहिने नभएको भए सायद मैले सबैका घरमा टिन लगाउने सङ्कल्प गर्ने थिइनँ । आज तपाईंहरुलाई समस्या छ तर भोलि तपाईँहरूको निकै राम्रो हुनेछ । राम्रोसँग पढ्नुस् । अरू चिन्ता नलिनुस् । तपाईँहरूका समस्या म समाधान गर्छु । ढुक्क भएर पढ्नुस् । म नियमित सहयोग गर्नेछु । सरकारका तर्फबाट पनि सहयोग हुने वातावरण मिलाउनेछु ।’ 

मुक्त कमलहरी विकास मञ्चको कानुनी सल्लाहकार समेत रहेका फकला थारु निकै उत्साहित देखिए । उनले ती नानीहरूका लागि गरेको प्रयास बल्ल सार्थक हुँदै थियो । मन्त्रीको त्यो कल अनि निरन्तर सहयोग गर्ने वाचा उनलाई एक मिठो सपना जस्तो लागिरहेछ । 

उनी सुनाउँछन्, ‘मन्त्रीज्यूले २ लाख नगद र ४० हजार बराबरको खाद्यान्न उपलब्ध गराउनुभएको छ । ठुलो राहत मिलेको छ । केही महिनालाई खाद्यान्नको समस्या पनि हल भएको छ । मन्त्रीज्यूले निरन्तर सहयोगको व्यवस्था मिलाउँछु भन्नुभएको छ । मुक्त कमलहरी बैनीहरू पनि पढ्न कस्सिएका छन् । निकै खुसी छन् ।’

(बिसी, शहरी विकास मन्त्रीका प्रेस संयोजक हुन् ।)

प्रतिक्रिया राख्नुहोस्

Back to top button