तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा बजार अनुगमन कार्यलाई तीव्रता

बाजुरा । बाजुरामा पछिल्लो समयमा बजार अनुगमन कार्यले तीव्रता पाएको छ । 

गत हप्ता सदरमुकाम मार्तडीमा अनुगमन गरे लगत्तै जिल्लाका विभिन्न क्षेत्रको अनुगमन द्रुत गतिमा अघि बढेको हो । 

जिल्लामा उपभोक्ताको गुनासो र बजारमा अखाद्य बस्तुको व्यापक भेटिन थालेपछि नियमित अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन अधिकृत लोकेन्द्र विष्टले जानकारी दिनुभएको छ । 

बुधवार दिउँसो बुढीगंगा नगरपालिकाका मुख्य बजारमा अनुगमन गरिएका थियो । बुधबार साँफे–मार्तडी सडक खण्डमा पर्ने रिठा बजार, बेतालमाण्डौं, बाम्का, फालासैन र  सेरा बजारमा अनुगमन गरिएको बुढीगंगा नगरपालिकाकी नगर उपप्रमुख माया खड्का(कुँवर)ले बताउनुभयो ।  

उपप्रमुख खड्काका अनुसार बजारमा अनुगमनमा मूल्य सूचि नराखेको, कालोबजारी बढ्दै गएको, चर्काे मूल्यवृद्धि, अवैध रुपमा लागु पदार्थ बेचबिखन लगायतका कार्य दैनिक रुपमा हुँदै आएको जन गुनासोपछि अनुगमन गरेको हो । 

बजार अनुगमनका क्रममा ५० हजार रुपैयाँ बराबरको खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ । १० लिटर अवैध रक्सी बरामद गरी नष्ट गरिएको छ । 

त्यसैगरी इजाजत नभएको एक व्यापारीबाट ६ पेटी सन्तरा रक्सी पनि बरामद गरेको सहायक प्रजिअ विष्टले जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा सडक खण्डमा  रहेका बजार अनुगमन गर्दा   रिठा, बेतालमाण्डौं, बाम्का, फालासैन र सेराबाट म्याद नाघेका वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभयो ।  

अखाद्य बस्तुको बजार अनुगमनका क्रममा ग्रामीण क्षेत्रको फार्मेसीको पनि अनुगमन गरिएको  छ ।  

अनुगमनका क्रममा अधिकांश व्यापारीले दर्ता विना नै व्यवसाय गर्दै आएको भेटिएका छन् । दर्ता विना सञ्चालन भएका पसलका व्यापारीलाई पहिलो पटक एक साताभित्र दर्ता गर्न अनुगमन टोलीले सुझाव दिएको घरेलु तथा साना उद्योग विकास समिति कार्यालय बाजुराका नायव सुब्बा पदम ऐरले बताउनुभयो । 

यस्तै बजार अनुगमनमा पहिलो चरणमा व्यापारीलाई मूल्य सूची राख्नुपर्ने, विल विजक जारी गर्नुपर्ने, सबैले देख्ने गरी बोर्ड राख्नुपर्ने,  लगायतका सुझाव टोलीले दिएको छ । दोस्रो पटक बजार अनुगमनका क्रममा दिएको सुझाव व्यापारीले पालना नगरेको पाइएमा जरिवाना तिराउने टोलीले बताएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button