नलगाडको पिपलचौर बस्ती पहिरोको उच्च जोखिममा

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ४ को पिपलचौर बस्ती पहिरोको उच्च जोखिममा परेको छ । बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपलचौर बस्ती उच्च जोखिममा परेको हो ।
पहिरो तथा खहरे खोलाको कटानले गर्दा पिपलचौर बस्ती जोखिममा परेको स्थानीय रविन्द्र गौतमले बताउनु भयो । कालीमाटी सिर्के सडक निर्माण गर्दा यसको असर परेको गौतमले बताउनु भयो ।
सडक निर्माणको समयमा थुपारेको माटो पानीले बगायो, खोलो बन्यो र कटान थाल्यो, त्यसले गर्दा अहिले आएर बस्ती नै धरापमा परेको छ, उहाँले भन्नुभयो । पहिरो रोकथाम तथा नियन्त्रण समयमै गरिएन भने यसबाट ठुलो क्षति पुग्ने छ, गौतमले भन्नुभयो ।

‘सानो पानी पर्दा पहिरो जान्छ । यसबाट यहाँका मकबहादुर सिंह, सन्देश रावल, प्रेमबहादुर रावल, कलम रावल, सत्यलाल गौतम, कल्पना पन्त, मनबहादुर खत्री लगायतका घर जनकल्यान आधारभूत विद्यालय जोखिममा रहेका छन् । पहिरो रोकथाम तथा नियन्त्रणतर्फ कतैबाट पनि पहल हुन सकेको छैन’, पिपलचौरका राजेन्द्र रावलले बताउनुभयो ।
‘यो पहिरो रोकथाम गरिएन भने यसबाट यहाँको उब्जाउ जमिन बगेर जाने खतरा छ’, रावलले भन्नुभयो । ‘पहिरोले गर्दा यहाँका मान्छेहरू त्रासमा छन् । स्थानीय सत्यलाल गौतमले पहिरोले मेरो आधा जग्गा नै गई सकेको’ बताउनु भयो । यो सबै रोडको कारण भएको उहाँले भन्नुभयो । ‘यो रोकथाम र नियन्त्रण कसरी हुन्छ सबैले एक पटक सोचौँ, जालीको व्यवस्थापन गर्न सकेमा बस्ती जोगाउन सकिन्छ की नत्र भने गाह्रो छ’, गौतमले भन्नुभयो । वडा तथा नगर सरकारले पिपलचौर पहिरोको विषयमा आवश्यक पहल लिनु पर्ने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्