सिसी क्यामेरा हेर्दै, कारबाही गर्दै ट्राफिक प्रहरी
काठमाडौँ । तपाईँले ट्राफिक प्रहरीको आँखा छलेर लेन मिच्दै जथाभाबी रुपमा सवारी चलाइरहनुभएको त छैन । यदि त्यस्तो छ भने अब तपाई प्रहरीको कारबाहीबाट भाग्न सक्नुहुन्न । कुनै न कुनै दिन तपाई कारबाहीको भागिदार हुन सक्नुहुन्छ ।

किनकि, प्रहरीले सिसी क्यामराको श्रव्यदृष्य हेरेर नियम उल्लङ्घन गर्नेलाई खोजेर कारबाही सुरु गरेको छ । विगतमा उक्त अभियान चलाइए पनि केही वर्ष रोकिएकामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त कार्यलाई पुनः सुरुआत गरेको हो ।
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका सवारी साधनका चालकलाई सिसी क्यामेराका आधारमा कारबाही तीव्र पारिएसँगै पछिल्लो समयमा मात्रै सिसी क्यामेराको फुटेजका आधारमा पहिचान गरी ६३ सवारी साधनका चालक कारबाहीमा परेका छन् ।
उक्त फुटेजमा कैद भएको श्रव्यदृष्यमा देखिएअनुसार लेन उल्लङ्घन गर्ने ३१, एकतर्फी सडकमा सो विपरीत सवारी साधन चलाएका २३ र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका आठ जना चालकलाई कारबाही गरिएको हो ।
यस्तै यात्रु लिन नमानेको कसुरमा अर्का एक चालकलाई पनि कारबाही गरिएको छ । भदौ १ देखि १४ गतेसम्म काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका चार सय २० चालक छन् ।
ट्राफिक प्रहरीले खोजी गरी ल्याइएका ९७ चालकमध्ये ६३ जनालाई कारबाही गरिएको छ । अन्य चालक हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा झैँ सिसीटिभी फुटेजका आधारमा खोजी गरी गर्ने कारबाहीलाई थप तीव्रता दिइएको प्रवक्ता भट्टले बताउनुभयो । प्रहरीले विद्यार्थी लक्षित जाँच अभियान पनि सँगसँगै अघि बढाएको छ । उक्त अभियानका क्रममा विद्यार्थीले पनि मापसे गरेर सवारी चलाउने गरेको पाइएपछि ऊनीहरू समेत कारबाहीमा परेका छन् ।
आजदेखि अवस्था ठिक नभएका सवारी साधन चलाउने विरुद्ध कारबाही
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अवस्था ठिक नभएका सवारी साधन चलाउने चालकविरुद्ध पनि आजदेखि अभियान थालेको छ । आज मात्रै यस्ता २६ चालक कारबाहीमा परेका छन् ।
काठमाडौँको कीर्तिपुरस्थित टियु गेट नजिकै तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको जाँचका क्रममा उनीहरुलाई कारबाही गरिएको भट्टले जानकारी दिनुभयो । ती गाडीमा हेण्ड ब्रेक निकालेका तीन, च्यासिस बाङ्गो बनाएका एक, हेडलाइट ठिक नभएको एक, अवस्था ठिक नभएको पाँच, वाइफर निकालेको र सवारी साधनको बत्ती ठिक नभएको १६ गाडीका चालकलाई कारबाही गरिएको जनाइएको छ ।
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्नसक्ने भएकाले सम्भावित जोखिम कम गर्न अभियानलाई तीव्रता दिइएको हो । आगामी दिनमा यस्ता गाडी चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्