तपाईँ सुन्दै हुनुहुन्छः

‘मानवीय क्षति अन्त्य गर्न वन्यजन्तु नियन्त्रणको उपाय खोज्छौँ’

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मानवीय क्षति न्यूनीकरण गर्नका लागि वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताउनुभएको छ ।

file photo

बर्दिया, शुक्लाफाँटा, चितवन, बारा, पर्सा, झापा लगायतका क्षेत्रमा रहेका जङ्गली हात्ती, बाघ, चितुवा, भालु लगायतका वन्यजन्तुले बर्सेनि त्यहाँका नागरिकको ज्यान लिने, बालीनाली नोक्सान गर्ने तथा विभिन्न दुःख दिँदै आएको गुनासा बढेपछि मानवीय क्षति अन्त्य गर्नका लागि मन्त्री यादवले वन्यजन्तु नियन्त्रणको उपाय खोजिने बताउनुभएको हो ।

यही भदौ १३ गते शुक्लाफाँटा नगरपालिका–७ मा १८ वर्षीया मीना जोशीको हात्तीको आक्रमणबाट ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्री यादवले अब जङ्गली हात्तीसहितका जनावरको नियन्त्रण तथा क्षति रोक्नका लागि ठोस उपाय खोजिने बताउनुभयो । जङ्गली जनावरसहित हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि नियन्त्रणका उपाय खोज्न मन्त्री यादवले मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

यसैगरी मन्त्री यादवले वन्यजन्तु नियन्त्रणका लागि विद्युतीय तारबारलाई सबै राष्ट्रिय निकुञ्जहरू लगायतका क्षेत्रमा पहिलो प्राथमिकता दिन पनि निर्देशन दिनुभयो ।

सरकारले हात्तीको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरुप रु १० लाख दिने नीतिगत व्यवस्था गरेको छ । यस्तै घाइते हुने, बाली र घरगोठमा क्षति पुगेका परिवारलाई पनि रु १० देखि रु ३० हजारसम्म क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button