तपाईँ सुन्दै हुनुहुन्छः

भिजिट भिसामार्फत मानव बेचबिखनका घटना बढ्न थालेपछि प्रहरीको कडा निगरानी

काठमाडौँ । भ्रमण भिसाको दुरुपयोग गरी मानव बेचबिखनका घटना सार्वजनिक हुन थालेपछि प्रहरीले कडा निगरानी थालेको छ । 

यही भदौ ८ देखि ११ गतेसम्ममा प्रहरीले भ्रमण भिसामा जान लागेका झण्डै दुई सय व्यक्तिको कागजात शङ्कास्पद देखिएपछि उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो । 

उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा ३९ जनालाई नक्कली कागजात बनाएर भ्रमण भिसा दिई कुवेतमा बेचबिखन गर्न लागेको खुलेको प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । त्यसमा केही व्यक्ति संलग्न रहेका पाइएकाले उनीहरूको खोजीकार्य सुरु भएको उहाँले बताउनुभयो । 

नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेतमा पठाउने क्रममा यही भदौ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पीडितलाई फिर्ता गराएको थियो । 

पीडितलाई फ्रि–भिसा फ्रि–टिकटमा कुवेतमा घरायसी काममा लगाइदिने र आकर्षक तलब मिल्ने प्रलोभन दिइएको पाइएको छ । ती गिरोहले पीडितको आवश्यक पासपोर्टलगायतका कागजातसमेत आफैँ बनाई महिला र पुरुषलाई काठमाडौँमा ल्याएर राख्ने गरेको खुल्न आएको छ । 

उनीहरूका कागजात जाँच गर्दा नक्कली रहेको फेला परेको छ । गैरकानूनीरूपमा कुवेत लैजान लागेको पुष्टि भएपछि पीडितले आवश्यक कानूनी कारबाहीका लागि ब्युरोमा जाहेरी दिएको मल्लले बताउनुभयो । 

आरोपीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण)ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको र खोजीकार्य जारी रहेको ब्युरोले जनाएको छ । उनीहरूको नाम भने ब्युरोले खुलाएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button