अख्तियार हेटौँडामा वार्षिक १३ हजार बढी उजुरी

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले भ्रष्टाचार न्यूनिकरणकोलागि सहकार्य सम्बन्धी छलफल कार्यक्रम अन्तर्गत हेटौँडामा पत्रकार सम्मेलन गरि वार्षिक कामहरूको तथ्याङगत विवरण सार्वजनिक गरेको हो ।
आयोगका प्रमुख नरहरि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका उपसचिव एवम् सूचना अधिकारी विष्णु सापकोटाले भ्रष्टाचार सम्बन्धमा विश्वमा नेपालको अवस्था, वार्षिक तथ्याङ्क, प्रदेशगत उजुरीको विवरण, भ्रष्टाचारजन्य प्रवृत्तिको विश्लेषण जस्ता विषयहरूमा जानकारी गराउनु भएको थियो । उहाँले आव २०७८/७९ मा कार्यालयमा उजुरी दर्ता भएका १३ हजार ५६ तथा आव २०७७/७८ का फर्छ्यौट हुन बाँकी ८ हजार ९३ गरी कुल २१ हजार ५४९ उजुरी रहेको बताउनुभयो । उजुरीमध्ये १३ हजार १०६ उजुरी फर्छ्यौट भएको सापकोटाले बताउनुभयो ।
आयोगको चालु आवमा ९० वटा मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय भएका छन् भने उक्त मुद्दाहरूमा ४६३ जना व्यक्तिलाई प्रतिवादी बनाइएको उहाँले बताउनुभयो । जसबाट २ अर्ब ५४ करोड ४७, लाख ६ हजार ४४ रुपैयाँ बिगो माग दाबी गरिएकोसमेत जानकारी दिनुभयो । प्रतिवादीमध्ये राष्ट्रसेवक २ सय २२ जना, निर्वाचित र मनोनीत एक सय जना, मतियारहरूमा १ जना पूर्व मन्त्री, व्यवसायी र अन्य गरी १ सय ४० जना रहेको उहाँले बताउनुभयो ।
आयोगमा दर्ता भएका मध्ये रसिद दुरुपयोग भएका प्रवृत्तिका उजुरी सबैभन्दा बढी परेको उहाँले बताउनुभयो । यस्तै सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धी उजुरी, उपभोक्ता समितिसँग सम्बन्धित उजुरी, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरू परेका छन् । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरू दर्ता भएको सापकोटाले बताउनुभयो । कार्यक्रममा आयोगका प्रमुख सहसचिव नरहरि घिमिरेले भ्रष्टाचार रोकथामका लागि नागरिकमा सचेतना फैलाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । उहाँले कानुनी दायरामा रहेर भ्रष्टाचारीलाई कारबाही गरि भ्रष्टाचारको अन्त्य गर्नतर्फ आयोग लागिरहने समेत बताउनुभयो ।
अख्तियारमा हेटौंडा बिरुद्ध सबैभन्दा बढी उजुरी
यसैबीच मकवानपुरका १० स्थानीय तह मध्ये हेटौँडा उपमहानगरपालिका विरुद्ध सबैभन्दा बढी उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले जनाएको छ । जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी हेटौँडा उपमहानगरपालिका विरुद्ध परेको सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिनुभयो ।
कार्यालयमा मकवानपुर जिल्लाका १० स्थानीय तहको २०७७र०७८ मा १०४ वटा र २०७८र७९ मा २०६ गरी कुल ३ सय १० वटा उजुरी परेको छ । जसमध्ये हेटौँडा उपमहानगरपालिका विरुद्ध आर्थिक वर्ष २०७८र०७९ को असार मसान्तसम्म १ सय ६९ उजुरी दर्ता भएको उहाँले बताउनुभयो । यस्तै हालसम्म हेटौँडा उपमहानगरपालिका बिरुद्ध परेका मुद्दा मध्ये १ सय १८ वटा फछ्र्यौट भएको र ५१ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ ।
यस्तै जिल्लाको थाहा नगरपालिका विरुद्ध आव २०७८र ०७९ को असार मसान्तसम्म ८ वटा उजुरी दर्ता भएको र ७ वटा उजुरी फर्छ्यौट गरिएको छ भने, इन्द्र सरोवर गाउँपालिकामा ४ वटा उजुरी दर्ता भई ४ वटै उजुरी फछ्र्यौट भएको सापकोटाले बताउनुभयो ।
यस्तै जिल्लाको कैलाश गाउँपालिकामा १२ वटा उजुरी दर्ता भएको र ९ वटा फछ्र्यौट भएको, बकैया गाउँपालिकामा २१ वटा उजुरी दर्ता भएको र १६ वटा उजुरी फछ्र्यौट भएको, बागमती गाउँपालिमा ६ वटा उजुरी दर्ता र ५ वटा फछ्र्यौट भएको, भीमफेदी गाउँपालिकामा १२ वटा दर्ता र ८ वटा फछ्र्यौट भएको, मकवानपुरगढी गाउँपालिकामा २० वटा उजुरी दर्ता र १४ वटा उजुरी फछ्र्यौट भएको, मनहरी गाउँपालिकामा ४२ वटा दर्ता र ३६ वटा फछ्र्यौट भएको र राक्सिराङ गाउँपालिकामा १६ वटा दर्ता र १० वटा फछ्र्यौट भएको सापकोटाले बताउनुभयो ।
कुल ३ सय १० वटा उजुरी मध्ये गत वर्ष ७५ वटा र यस वर्ष १ सय ५२ गरी आव २०७८/०७९ को असार मसान्तसम्म २ सय २७ वटा उजुरी फछ्र्यौट गरिएको आयोगले जनाइएको छ । यस्तै हाल फछ्र्यौट हुन बाँकी उजुरी ८३ वटा रहेको सापकोटाले बताउनुभयो । आयोगमा टेलिफोन मार्फत बढी उजुरी दर्ता भएको समेत उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्