तपाईँ सुन्दै हुनुहुन्छः

छरपस्ट निर्माण सामाग्री तत्काल हटाउन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामाग्री तत्काल हटाउन निर्देशन दिनुभएको छ ।

यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत वाधा पुगेकोले त्यस्ता सामाग्रीहरू तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको हो ।

इन्द्रजात्राको तयारीबारे बुझ्न आज हनुमानढोका दरबार क्षेत्र निरीक्षणमा जानुभएका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वको हनुमानढोका दरबार क्षेत्र व्यवस्थापनमा ध्यान दिन हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, नेपाल प्रहरी, नेपाली सेना, पुरातत्त्व विभाग र स्थानीय सङ्घसंस्थालाई आग्रह गर्नुभयो । नेपालीको गौरवका रुपमा रहेको हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका सामाग्रीले इन्द्रजात्रा लगायत महत्त्वपूर्ण जात्राहरू व्यवस्थापनमा समेत चुनौती सिर्जना हुने उहाँको भनाइ छ ।

सन् १९७९ मा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र भूकम्पका कारण क्षतिग्रस्त भएपछि अहिले पुनर्निर्माणको काम भइरहेको छ ।

अहिले वसन्तपुरमा इन्द्रजात्राको तयारी तीव्र पारिएको छ । आठ दिन चल्ने इन्द्रजात्रा अवधिभर वसन्तपुर क्षेत्र उत्सवमय हुने गरेको छ । सो अवसरमा इन्द्रजात्राको तयारीबारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button