सल्यानको बागचौरमा लिफ्ट प्रविधिबाट घरमै धारा

सल्यान । लिफ्ट प्रविधिबाट घर घरमा खानेपानी आएपछि सल्यान बागचौर नगरपालिका २ का ३ सय घरधुरी लाभान्वित भएका छन् । वर्षौंदेखि खानेपानीको चरम समस्या झेल्दै आएका बागचौर, थारमारे र लस्तम जिउलाका तीन सय घरधुरी घरभित्रै धारा आएपछि खुसी भएका हुन ।
लाटीगार खोला किनारमा रहेको मुहानबाट एक गाग्री पानी ल्याउन आधा घण्टा भन्दा बढी समय लाग्ने गरेकोमा घरभित्र २४ सैँ घण्टा पानी आउन थालेपछि बागचौर नगरपालिका २ बागचौरकी ५२ वर्षीया दिपा खत्रीको भोगाई फेरिएको छ । घरमै धारा आउँदा उहाँ हर्षित हुनु भएको छ । उहाँले भन्नु भयो पानी ओसारेरै जीवन जाने भो भन्ने सोच्नु भएकी खत्रीलाई आफ्नै घरको आँगनमा पानीको धारा आएपछि सुरुका केही दिन सपना जस्तै लागेको थियो ।
बागचौरकै ५८ वर्षीय चूडामणि खत्रीलाई पनि आफ्नै घरमा पानीको धारा आउँदा दङ्ग पर्नु भएको छ । बागचौर जस्तो सुख्खा ठाउँमा घर घरमा पानी आउँदा खुसी नहुने कुरै भएन उहाँले भन्नु भयो ।
बस्तीभन्दा झन्डै डेढ किलोमिटर तल जंगारखोलाबाट लिफ्ट प्रविधिबाट पानी तानेर बागचौर, थारमारे र लस्तम जिउलाका तीन सय धरधुरीमा पानी वितरण गरिएको छ । सुरुमा १ सय ८० घरधुरीलाई लक्षित गरी योजना निर्माण गरिएपनि अहिले तीन सय घरधुरी लाभान्वित भएको बागचौर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर केसीले बताउनु भयो ।
खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालय सल्यानको श्रमदान सहित ३ करोड १६ लाख बजेटबाट योजना सम्पन्न भएको उहाँको भनाई छ । वर्षौँदेखि खानेपानीको समस्यालाई भोग्दै आइरहेका तीन गाउँका स्थानीय लिफ्ट प्रविधिबाट पानी आएसँगै उक्त समस्याबाट मुक्ति पाएको केसीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्