तपाईँ सुन्दै हुनुहुन्छः

अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा महिला कामदार लक्षित सांस्कृतिक परिवर्तनको प्रतिबद्धता

क्यानबेरा। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कार्यस्थलमा महिलाको अवस्था सुधार गर्न ‘सांस्कृतिक परिवर्तन’ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गत मे महिनामा भएको निर्वाचनमा लेबर पार्टी सत्तामा आएको १०० दिन पुगेको उपलक्ष्यमा सोमबार गरेको सम्बोधनमा अल्बानिजले ‘सुधार र नवीकरण’ को एजेन्डामा परिवर्तन भएको सङ्केत गर्नुभएको थियो ।

नेसनल प्रेस क्लब (एनपीसी)सँगको कुराकानीमा उहाँले भन्नुभयो, “भविष्यका लागि योजना बनाउने, दीर्घकालीन रूपमा निर्माण गर्ने, सुधारहरू कार्यान्वयन गर्ने दायित्व सरकारको हो जसले मानिसहरूलाई उनीहरूको क्षमता पूरा गर्ने हरेक अवसर प्रदान गर्दछ ।”

लेबर पार्टीलाई चुनावी जीतको लागि नेतृत्व गरेदेखि आफुले कार्यालयमा एक दिन पनि समयको वर्वाद नगरेको उहाँको दावी थियो ।

अस्ट्रेलियाको हरीत गृह उत्सर्जन कटौती लक्ष्य बढाउन र कम तलब भएका कामदारहरूको लागि ज्याला बढाउने दिशामा उहाँले कदम चाल्नुभएको छ । स्थानीय उत्पादन उद्योगको पुनरुत्थान, स्वच्छ र सस्तो ऊर्जा, सस्तो बच्चाको हेरचाह र राम्रो सीप र प्रशिक्षणलगायत लेबरको चुनावी सङ्कल्पहरूको सूचीलाई उहाँले अर्को प्राथमिकताको रूपमा पहिचान गर्नुभएको छ ।

बिहीबारदेखि सुरु भएको सरकारको दुई दिने रोजगार सम्मेलनअघि अल्बानिजले भन्नुभयो, “३० वर्ष बितिसक्दा पनि लैङ्गिक असमानता कम भएको छैन ।” महिलाका लागि आर्थिक समानतामा गम्भीर सुधारको प्रतिवद्धता उहाँले गर्नुभएको छ । यसका लागि संसदबाट हुने कानुन परिवर्तनभन्दा पनि बढी समय लाग्ने भन्दै अस्ट्रेलियालीहरूलाई संस्कृति परिवर्तन पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।

शुक्रबार दिउँसो शिखर सम्मेलन समाप्तपछि उहाँले भन्नुभयो अझै पनि चुनौतीहरू छन्, “एक ट्रिलियन डलरको ऋणसहित अस्ट्रेलियाली परिवारहरू जीवनयापनको लागतको दबाबसँग संघर्ष गरिरहेका छन् । ठूला र साना व्यवसायहरूको लागि कर्मचारी र आवश्यक सीपहरूको आवश्यक छ ।”

“तर लामो समयपछि पहिलो पटक, मलाई विश्वास छ कि हामी यी समस्याहरूको लागि कसलाई दोष दिने भनेर बहस गर्नुको सट्टा यी समस्याहरू कसरी समाधान गर्ने भन्ने कुरामा सहमतिमा अघि बढ्नेछौं,” उहाँले भन्नुभयो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button