तपाईँ सुन्दै हुनुहुन्छः

‘होप अन हप अफ’ बस सञ्चालनबारे छलफल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकहरूलाई सहज बनाउन ‘होप अन हप अफ’ सिटी बस सञ्चालनबारे सरोकारवालाहरूसँग छलफल गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको छलफलमा बस व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरी लगायत सरोकारवालाको उपस्थिति थियो । काठमाडौँका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

काठमाडौँमा पर्यटकलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ । काठमाडौँका विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा ‘होप अन हप अफ’ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । ‘होप अन हप अफ’ का लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गर्नुपर्ने सरोकारवालाको सुझाव छ ।

पहिलो चरणमा साझा यातायातका बिजुली बसलाई ‘होप अन हप अफ’ का लागि प्रयोग गर्ने तयारी गरिएको छ । साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले दुई महिनाभित्र बस सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको बताउनुभयो ।

अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री बसमा पर्यटक पथप्रदर्शक समेत हुनेछन् । २७ किलोमिटरको मुख्य सम्पदा यात्राका लागि करिब साढे २ घण्टा समय लाग्नेछ । पाँच वटा बस तीस/तीस मिनेटमा छुट्ने गरी तयारी गरिएको तुलाधरले बताउनुभयो ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्र विकासको लागि सांस्कृतिक सम्पदाहरूलाई संरक्षण र संवर्द्धन गर्दै अर्थतन्त्रमा टेवा पुग्ने गरी कार्ययोजना अगाडि बढाइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button