विश्वविद्यालय ज्ञान बाँड्ने थलो हो यसको विकासका लागि सबैको साथ आवश्यक : उपकुलपति डा.जोशी
टीकापुर कैलाली । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशीले ज्ञानलाई बन्दी बनाउन नहुने बताउनुभएको छ ।
टीकापुरमा आजबाट सुरु भएको पाँच दिने बदलिँदो हावा पानी प्रभाव न्यूनीकरणमा उपयुक्त धान खेती अनुसन्धान विधि तथा तथ्यांकीय विश्लेषण प्रविधि विषयक तालिमको उद्घाटन गर्नुहुँदै उपकुलपति डा.जोशीले ज्ञानलाई बन्दी बनाएपछि कसैको पनि विकास नहुने र यसलाई फैलाएर लैजानु पर्ने बताउनुभयो ।
उहाँले नेपालको तराई क्षेत्र धान बालीका लागि उर्भर भूमि भएकाले धानको वृद्धि विकासका लागि तालिम तथा सेमिनारहरू आवश्यक हुने बताउनुभयो । उहाँले विश्वविद्यालय एउटा ज्ञान बाँड्ने थलो भएकाले एक्लैले केही गर्न नसक्ने भन्दै यसको विकासका लागि सबैको साथ चाहिने बताउनुभयो ।
अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठान नेपाल इरीका निर्देशक डा.कृष्णदेव जोशीले हाम्रो समाजमा खाद्य र पोषण सुरक्षाको चुनौती रहेको बताउँदै ती चुनौतीको सामना गर्नको लागि बालीहरूको नयाँ नयाँ जातमा अनुसन्धान हुन जरुरी रहेको बताउनुभयो ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले हाम्रो देश कृषिप्रधान देश भएकाले विश्वविद्यालयका कृषि सङ्कायले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउँदै कृषिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालयका रजिस्टार डा. यज्ञराज पाठकले टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा खाली भएको खण्डमा कृषि क्षेत्रका धेरै काम गर्न सकिने र त्यसको लागि विश्वविद्यालय लगानी गर्न तयार रहेको बताउनुभयो ।
कृषि संकायका डिन डा.लालप्रसाद अंगाईले कृषि विषय भनेको प्राविधिक विषय भएकाले विश्वविद्यालयबाट उत्पादन भएको जनशक्ति उपयोग गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायका प्राध्यापकहरू, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरू, रानी जमरा कुलरीया सिँचाई आयोजनाका प्रतिनिधि, कृषि अनुसन्धान केन्द्र नार्कका प्रतिनिधि, मुक्तिनाथ कृषि कम्पनी काठमाडौँका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान नेपाल इरीको संयुक्त आयोजनामा भएको तालिमलाई नार्कका वैज्ञानिक डा.महेन्द्र त्रिपाठी र डा.रामबहादुर खड्काले सहजीकरण गरिरहनुभएको छ ।
धान खेतीको वृद्धि र विकासमा सहयोग पुगोस् भनी तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्