तपाईँ सुन्दै हुनुहुन्छः

सरस्वती कलीले र लोकतन्त्र कलीले बच्चा जन्माइन्

काठमाडौँ। पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा हात्ती संरक्षण र समग्र प्रकृति संरक्षणमा चासो राख्नेहरूका लागि खुसीको खबर छ ।

आइतबार एकै दिन दुई वटा हात्तीले एक/एक बच्चा जन्माएका छन् ।कोसी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोकतन्त्र कली नामक हात्तीले पोथी बच्चालाई जन्म दिएका हुन् । हात्तीको गर्भावस्था २२ देखि २४ महिनाको हुन्छ । दुवै आमा र दुवै बच्चाको स्वास्थ्य राम्रो रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिनुभयो ।

नेपालमा हाल जङ्गली रैथाने करिब २२५, भारतका विभिन्न स्थानबाट बसाइसराइ गरेर आउने ९झापा र शुक्लाफाँटामा० २०० को हाराहारीमा र घरपालुवा १७८ ९सरकारी १०२ र निजी ७६० को सङ्ख्यामा हात्ती छन् । घरपालुवा हात्ती कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका उहाँले बताउनुभयो । चितवनमा हात्तीको प्रजनन केन्द्र सफल रुपमा सञ्चालित छ ।

हात्तीले एकै दिन भाले र पोथी बच्चा जन्माउनु खुसीको कुरा भएको बताउँदै महानिर्देशक ढकालले यिनीहरूको हेरचाहमा हात्तीसारमा काम गर्ने कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने भएकाले हात्तीसारमा काम गर्ने कर्मचारीको सेवा सुविधा वृद्धि गरी प्रोत्साहन गर्नुपर्ने नीति सरकारले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । हात्ती जमिनमा पाइने सबैभन्दा ठूलो जनावर हो । हात्तीलाई हिन्दू धर्ममा भगवानको रुपमा पूजा गर्ने गरिन्छ । विश्वका ५० देशमा हात्ती पाइए पनि दुर्लभ र लोपोन्मुख भएकाले नेपालको कानुनअनुसार हात्ती संरक्षित जनावरमा रहेको छ ।

सरकारले घरपालुवा हात्ती प्रयोग गरेर जङ्गली हात्ती र अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको जानकारी दिँदै उहाँले पर्यटन प्रर्बद्धनमा पनि हात्तीको ठूलो योगदान रहेको बताउनुभयो । यसका साथै बेला बेलामा हात्तीबाट हुने हानी नोक्सानी र क्षतिले गर्दा मानव–हात्ती द्वन्द्व बढ्दो छ । हात्तीले मान्छे मार्ने, घाइते बनाउने, घर गोठ भत्काउने, बालीनाली नोक्सानी गर्ने, भण्डारण गरेको अन्न खाइदिने गर्दै आएको छ । यो समस्या न्यूनीकरणका लागि विभागले विभिन्न कार्य गर्दै पनि आएको छ ।

हात्ती कै विषयमा विद्यावारिधि गर्नुभएका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोक रामका अनुसार जङ्गली रैथाने हात्ती बढी पाइने स्थान बर्दिया निकुञ्ज र त्यसपछि पर्सा राष्ट्रिय निकुञ्ज हो । पछिल्लो समय हात्ती संरक्षणमा विभिन्न चुनौती बढ्दै गएका छन् ।बढ्दो मानव–हात्ती द्वन्द्व र कतिपय स्थानमा मानव बस्ती सुरक्षाका लागि भनेर राखिएका तारबाट करेण्ट लागेर हात्ती मर्ने गरेको छ भने बासस्थानको क्षयीकरण र अतिक्रमण, हात्तीमार्गमा मानव बस्ती विस्तार, पूर्वाधार विकास निर्माणका कारण चोरी शिकारी मुख्य चुनौती भएको उहाँले बताउनुभयो ।

नेपालमा हालसम्म बाघ र गैँडाको जस्तो व्यवस्थितरुपमा हात्तीको गणना गर्ने नगरिएकाले यसको संरक्षण र जानकारीका लागि गणना सुरु गर्नुपर्ने उहाँको तर्क थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button