अटवारी पर्व मनाउँदै कैलाली र कञ्चनपुरका थारु समुदाय

कैलाली । आज कैलाली र कञ्चनपुरका थारु समुदाय अटवारी पर्व मनाउँदै छन् ।
श्रीकृष्ण जन्माष्टमीपछि आउने दोस्रो आइतबारबाट अटवारी पर्व सुरु हुन्छ। शनिबार राति दर खाएर आज आइतबार व्रत बसी अटवारी पर्व मनाउने चलन थारु समुदायमा रहेको छ ।
द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको पाइन्छ ।
अर्कोथरि मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा गरी व्रत बस्ने चलन रही आएको किम्बदन्ती छ । अटवारी पर्वमा थारु समुदायका पुरुषले पानी समेत नखाई दिदी बहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डव मध्येका भीमको पूजा गर्ने गर्दछन् ।
यस्तै अटवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा पनि दिएको छ । आज कैलाली–कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा रहनेछ ।
टीकापुरको वैदीमा घडियाल उत्सव
यसैबीच दुर्लभ घडियाल गोही संरक्षणका लागि कैलालीको टीकापुरमा प्रथम घडियाल उत्सव आयोजना गरिएको छ । दुर्लभ घडियाल गोहीको संरक्षण सम्बन्धी सचेतना फैलाउन, स्थानीय बासिन्दा र स्थानीय सरकारलाई जिम्मेवार बनाउन उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
घडियाल उत्सव उद्घाटन गर्दै टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले डल्फिन तथा जलचर संरक्षणका लागि नगरपालिकाबाट सक्दो सहयोग रहने बताउनुभयो । उहाँले तटीय क्षेत्रका समस्या थुप्रै समस्या भएपनि स्थानीयले जलचर संरक्षण गरिरहेको बताउँदै नगरपालिकाको स्रोतले भ्याउने सहयोग रहने बताउनु भयो ।
उपप्रमुख खडकबहादुर शाहले डल्फिन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सबै एकमत रहेको बताउँदै नगरपालिका मात्रैको बजेटले सम्भव नभएकाले सबैले पहल र प्रयास गर्न आवश्यक रहेको बताउनुभयो । महोत्सव डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालले आयोजना गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्