मेलम्चीमा बाढी : गाउँ गाउँका मुख्य तथा सहायक सडक अवरुद्ध
मेलम्ची । शनिबारदेखि परिरहेको वर्षाले सिन्धुपाल्चोकको विभिन्न स्थानमा व्यापक क्षति पुर्याइरहेको छ । भारी वर्षाको कारण नदीले ठाउँ ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्युनिकरणका लागि गरिएका सबै प्रयास असफल भएका छन् ।
बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरी लगायतका गाउँ गाउँका सडक धेरै सडक अवरुद्ध भएका छन् । अहिले हेलम्बुको खेतका फाँटहरूबाट नदी बगिरहेको छ भने ठाउँ ठाउँमा सडकै सडक खोला बगिरहेको छ ।
यसले गर्दा यातायातका साधनहरू बाटोमै अलपत्र परेका छन् । नजिकिएको तिजका कारण माइत हिँडेका चेलीहरू र अन्य सर्वसाधारणका कारण भरिभराउ रहेका यातायातका साधन बिच बाटोमै रोकिँदा यात्रुहरूलाई गन्तव्यसम्म पुग्नका लागि सकस भइरहेको छ । मेलम्चीको सिमखेत, हेलम्बुको विभिन्न स्थान, पाँचपाखेरीको राम्चे ,भोताङ, र गुन्सा लगायतका बाटो अहिले अवरुद्ध छन् ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र अत्यधिक सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
गत बर्ष आएको बाढीका कारण हेलम्बु मेलम्ची,इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदी तटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो । जसकारण पनि धेरै मानसहरू विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन् ।
प्रतिक्रिया राख्नुहोस्