कुपोषणलाई शून्य बनाउन पौवादुङमामा विशेष पोषण कार्यक्रम शुरु

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले विशेष पोषण कार्यक्रमको शुरुवात गरेको छ । नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विशेष पोषण कार्यक्रम शुरु गरेको हो ।
बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अभियानको रुपमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अभियान छ ओटै वडामा सञ्चालन गर्ने जनाइएको छ । आमाले राखेको तथ्याङ्कको आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।
यो कार्यक्रम अन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगायतको विषयमा तथ्याङ्क राख्ने र उनीहरूको स्वास्थ्यमा कुनै कारण समस्या देखा परेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ ।
बच्चाको स्वास्थ्य अवस्थाको बारेमा आमालाई आवश्यक तालिम दिन शुरु गरेको हो । अभियान अन्तर्गत वडा नं २ तिवारीभञ्याङका २० जना आमालाई तामिलसँगै आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बालबालिकाको मानसिक स्वास्थ्य वृद्धि अनुगमन र पोषण लेखाजोखा गरिने स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिनु भयो ।
प्रमुख उपाध्यायले भन्नु भयो ,‘प्रदेश १ मा पहिलो चरणमा छनौट भएका पाँच ओटा स्थानीय तह मध्ये हाम्रो गाउँपालिका पनि एक हो । हामीले कार्यक्रमको शुरुवात गरेका छौँ । यो अभियान सबै वडामा सञ्चालन गछौँ ।’
बालबालिकाको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै प्रदेश सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बच्चा जन्मिएपछि उसको वृद्धि विकास कसरी भइरहेको छ भन्ने विषयमा यो कार्यक्रमले मुख्य ध्यान दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो ‘ कार्यक्रमको मुख्य उद्देश्य समाजमा हुने कुपोषणलाई हटाएर स्वास्थ्य नागरिक उत्पादन गर्ने हो । यो कार्यक्रमले बालबालिकामा हुने कुपोषण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ । बालबालिकालाई स्वास्थ्य र मानसिक रुपमा सक्षम बनाउन सहयोग पुग्छ । शिशु जन्मपछि उसको तौल, मोटाई लगायत उसको वृद्धि विकासको रेकर्ड राख्छौँ । त्यो रेकर्डको आधारमा बच्चाको स्वास्थ्य अवस्था हेछौँ । यदि उसको वृद्धि विकासमा कुनै असर पुगेको रहेछ भने अस्पतालमा लगेर उपचारको व्यवस्था मिलाउँछौँ ।’
गाउँपालिकाका बालबालिकालाई पर्याप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शुन्यमा झार्ने लक्ष्यले कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनु भयो । स्थानीयलाई सहज रुपमा सेवा प्रदान गर्न नीति तथा कार्यक्रम नै बनाएको अध्यक्ष राईले बताउनु भयो । अध्यक्ष राईले भन्नु भयो ,‘ पोषण भनेको बालबालिकासँगै मानिसको लागि अपरिहार्य बस्तु हो । स्वस्थ नागरिक उत्पादन गर्न हामीले पोषणमा ध्यान दिन आवश्यक छ । त्यही भएर हामीले कुपोषणरहित गाउँपालिका बनाउने अभियान थालेका छौँ ।’







प्रतिक्रिया राख्नुहोस्