तपाईँ सुन्दै हुनुहुन्छः

साउदीको जेलमा रहेका छोरा छुटाउन परिवारको हारगुहार 

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ का २९ वर्षीय दिनेश कार्की जरिवाना रकम तिर्न नसक्दा विगत १३ महिनादेखि साउदीमा जेलमा जीवन बिताइरहनु भएको छ । 

दिनेशका परिवारले जेलमा रहेका छोरालाई छुटाएर नेपाल  ल्याउनका लागि पहल गरिदिन सरकार समक्ष अनुरोध समेत गरेका छन् । कार्कीको बुबा गणेशबहादुर कार्की र आमा दुर्गा कुमारी कार्कीले सहयोगको अपिल गर्नुभएको हो। बुबा गणेश बहादुर शारीरिक रुपमा असक्त रहनुभएको छ । 

छोरा जेलमा परेको खबर सुनेदेखि भोक निन्द्रा हराएको आमा दुर्गाकुमारी कार्कीले बताउनु भयो । एक वर्ष भन्दा बढी छोरासँग सम्पर्क भएन, अहिले कहिलेकाहीँ सम्पर्क हुने गरेको दुर्गाकुमारीको भनाइ छ। छोरा कतिबेला घर आइपुग्ला भन्ने प्रतीक्षामा रहेको उहाँले बताउनु भयो ।

रोजगारीको क्रममा ५ वर्षअघि साउदीको अल हवाला फर ट्रेनिङ एण्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रुपमा काम गर्न उहाँ पुग्नुभएको हो । तर कम्पनीले श्रम सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि उहाँ बाहिरै अवैध रुपमा काम गर्न थालेको र काम गर्ने सिलसिलामा सवारी साधन दुर्घटना भएपछि त्यहाँको सुरक्षाकर्मीबाट आफू पक्राउ परेको उहाँले टेलिफोन मार्फत् जानकारी दिनुभयो । 

अहिले त्यहाँको प्रशासनले ५७ हजार रियाल क्षतिपूर्ति बापतको जरिवाना भरेको छ, त्यो तिर्न नसक्दा विगत १३ महिना देखि जेलमै रहेको दिनेशले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button