प्रधानमन्त्रीद्वारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

रुपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ । संघीय सरकार सहरी विकास मन्त्रालयले निर्माण गरेको सम्मेलन केन्द्रको शनिबार एक समारोहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो ।
दुई चरणमा गरी १ अर्ब ११ करोडको लागतमा निर्माण भएको उक्त सम्मेलन केन्द्र उद्घाटन समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकास मन्त्री मेटमणि चौधरी र पूर्वअर्थमन्त्री विष्णु पौडेलको उपस्थिति रहेको थियो।

रुपन्देहीको बुटवल उपमहानगर पालिका वडा नं. ८ रामनगरमा निर्माण भएको सम्मेलन केन्द्र निर्माणको काम पाँचवर्ष अघि सुरु भएको थियो । नेपालको झन्डा आकारमा तयार पारिएको केन्द्रमा एकै पटकमा एक हजार जना मानिस अट्ने सभा हल र बैठक कक्षहरू रहेका छन् । ९.६ बिगाहा क्षेत्रफल जमिनमा बनेको सम्मेलन केन्द्रमा सभा हलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ।
यसका अलवा सम्मेलन केन्द्रमा सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ। सम्मेलन केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ। सम्मेलन केन्द्रमा हेलिप्याड समेत बनाइएको छ। प्रधानमन्त्री देउवा हेलिकप्टरमा सम्मेलन केन्द्रमा आउनुभएको हाे ।








प्रतिक्रिया राख्नुहोस्