तपाईँ सुन्दै हुनुहुन्छः

‘पैँचो पसल’ द्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने

काठमाडौँ । नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैँचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने भएको छ ।

नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्‍याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो ।

पैँचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी बजारमा पुर्‍याउन न्यूयोर्कको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिमार्फत सहकार्य गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल ध्येयका साथ सुरु भएको पैँचो पसलका उत्पादन नेपाली उपभोक्तामाझ लोकप्रिय भएको र यसलाई अन्तर्राष्ट्रिय बजारमा पनि उपभोक्तामाझ पुर्‍याउन पहल गरिएको पैँचो पसलका बजार व्यवस्थापक लक्ष्मण गैरेले बताउनुभयो । उहाँले विशुद्ध पहाडी र उच्च पहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गरिने बताउनुभयो ।

पैँचोका उत्पादनलाई अग्नि एक्जिममार्फत फ्रेन्सी हाउस इन्कले अमेरिका आयात गरी एक्सपोट फर्म नेपाल आइएनसीमार्फत सबै राज्यमा बिक्री सुरु गरेको छ । यसका लागि पैँचो पसल र फेन्सी हाउस इन्कबीच सहकार्यका लागि सम्झौता भएको छ ।

फ्रेन्सी हाउस इन्कका निर्देशक अनिल रौनियारले सम्झौताले नेपालका ग्रामीण भेगका उत्पादनलाई अमेरिकी बजारमा पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अर्ग्यानिक र इन्ट्रिग्रेटेड पेस्ट म्यानेजमेन्ट पद्धतिबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button