महाअभियोग प्रकरणः जबराविरूद्धका प्रमाणहरू माग

काठमाडौँ ।संसद्को महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ ।
समिति सचिवालयले आज सार्वजनिक सूचना जारी गर्दै प्रधानन्यायाधीश जबराविरूद्धका प्रमाण तथा कागजात तीन दिनभित्र उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायलाई आग्रह गरेको हो ।
समितिको ८ भदौको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँग प्रमाण, कागजात माग गर्ने निर्णय गरेको थियो ।
समितिको इमेलमार्फत प्रमाण, कागज तथा सुझाव उपलब्ध गराउन सकिने सचिवालयले जनाएको छ ।महाअभियोग प्रस्तावमाथिको छानविन गरिरहेको समितिले यही भदौ १५ गते प्रधानन्यायाधीश जबरासँग सोधपुछ बयानका लागि बोलाउँदै बिहीबार पत्राचार समेत गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध २१ बुँदे आरोपमा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्