भरतपुर महानगरद्वारा कक्षा ११ का २ सय ७४ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

चितवन । भरतपुर महानगरले नीजि तथा सामुदायिक विद्यालयको कक्षा ११ मा अध्ययनरत २ सय ७४ जनाले छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी २ सय ७४ जनालाई छात्रवृत्तिका लागि छनौट गरेको हो ।
छात्रवृत्ति वितरण कार्यक्रममा भरतपुर महानगरका मेयर रेनु दाहालले आफूखुसी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति नियन्त्रण गर्न महानगर यो प्रणाली अपनाएको बताउनुभयो । उहाँले विद्यार्थीको क्षमता र योग्यताका आधारमा पारदर्शी रुपमा विद्यार्थीलाई कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।
आज (बिहीबार) औपचारिक कार्यक्रम गरि छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीलाई सिफारिस पत्र वितरण गरिएको छ ।
मेयर दाहालले गरिबी तथा विपन्नकै कारण शिक्षाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था हटाउन महानगर लागेको बताउनुभयो । अल्पसङ्ख्यक, सीमान्तकृत समुदायका लागि, उच्च शिक्षाका लागि समेत छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।
“भरतपुरबाट दक्ष जनशक्ति तयार गर्न शिक्षामा लगानी बढाएका छौँ”, उहाँले भन्नुभयो, “जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ ।” शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालका अनुसार ३१ वटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो ।

छात्रवृत्ति पाएकाहरूमध्ये विज्ञानतर्फ १ सय ६३ जना छन् भने १ सय ११ जना अन्य विषय पढ्नेहरू छन् ।
महानगरले बनाएको छात्रवृत्ति वितरण कार्यविधि अनुसार विद्यार्थी छनौट गरिएको हो । जेहेन्दारतर्फ १ सय १५ जना, गरिब तथा विपन्नतर्फ ९९ जना, आदिवासी जनजातितर्फ २७ जना, दलिततर्फ १७ जना, अपाङ्गता भएका ७ जना, जनआन्दोलनका घाइतेका सन्तति तर्फ ५ जना, शहीदका सन्ततितर्फ ३ जनाले छात्रवृत्ति पाएका छन् ।
एसइई सामुदायिक विद्यालयबाट दिएका १ सय ४९ जना र संस्थागत विद्यालयका १ सय २५ जना छनौटमा परेका छन् । अरोमा इङ्लिस सकेण्डरी स्कुलमा ५० जना, अर्किड सकेण्डरीका ३० जना, वाल्मीकि शिक्षा सदनमा २७ जना, सप्तगण्डकी क्याम्पसमा २० जना, बालकुमारी कलेजका ९ जना विद्यार्थीले छात्रवृत्ति पाएका छन् । छात्रवृत्तिमा छनौट भएका विद्यार्थीले कक्षा ११ र १२ मा निःशुल्क पढ्न पाउनेछन् ।
महानगर सामाजिक विकास समितिका संयोजक तथा भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले संस्थागत विद्यालयले कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनै पर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो ।
उहाँका अनुसार कक्षा ११ मा अध्ययनरत कुल विद्यार्थीको ५ प्रतिशत विद्यार्थीलाई महानगरबाट सिफारिस भएका आधारमा छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ ।
अन्य ५ प्रतिशतलाई विद्यालय छात्रवृत्ति वितरण समितिको निर्णयअनुसार हुने व्यवस्था छ ।
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले स्मार्ट महानगरलाई सघाउन विद्यार्थी छात्रवृत्ति कार्यक्रमले टेवा पुर्याउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्