हिमामा ज्येष्ठ नागरिकलाई भत्ता बुझ्न निःशुल्क यातायात सेवा

जुम्ला । सरकारले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैङ्किङ प्रणालीबाट दिने व्यवस्था गरेको छ । बैङ्कमा खाता खोल्नु पर्ने र स्वयम आफै गएर भत्ता बुझ्ने पर्ने भएपछि ज्येष्ठ नागरिक, एकल महिला बालबालिका एक दिन हिँडेर पनि बैङ्क पुग्न बाध्य छन् । आर्थिक सुशासन कायम गर्न सामाजिक सुरक्षा भत्ता वितरणमा लागु भएको बैङ्किङ प्रणालीले ज्येष्ठ नागरिकलाई आउजाउमा मुस्किल हुने गरेको छ ।
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझन बैङ्क सम्म आउजाउमा भएको समस्यालाई मध्यनजर गर्दै यहाँको हिमा गाउँपालिका वडा नं. १ ले निःशुल्क यातायात सेवा शुरु गरेको छ । वडा पालिकाका सबै ज्येष्ठ नागरिकले भत्ता बुझन जान र आउन निःशुल्क यातायात सेवा प्रयोग गर्ने छन् ।
घरबाट बसले बैङ्क सम्म ल्याउने र भत्ता बुझेपछि घरसम्म पुराउने भएपछि हामी निकै खुसी छौ । स्थानीय सरकारको पनि महसुस भएको छ । ८३ वर्षीय धन बहादुर बुढाले भन्नुभयो,“हिँडेर आउजाउ गर्न एक दिन लाग्थ्यो । भत्ता बुझ्न जानु नै बिरामी हुन गएजस्तो हुन्थ्यो । अहिले त बसमा सरर.. बैङ्क सम्म पुग्ने व्यवस्था भएपछि निकै सहज भएको छ । नयाँ वडाध्यक्षले ज्येष्ठ नागरिकका लागि राम्रो काम गरेको चित्त बुझ्या छ ।”
धन बहादुर जस्तै हिमा १ का सबै गाउँका ४ सय ५७ जना ज्येष्ठ नागरिक,बालबालिका,अपाङ्ग व्यक्ति भत्ता बुझ्न निःशुल्क यातायात सेवा सञ्चालन भएपछि खुसीले मक्ख भएका छन् ।
गाउँबाट भत्ता बुझ्न बैङ्क जान एक दिन लाग्ने भएकोले ज्येष्ठ नागरिकको राहतका लागि वडाबाट निःशुल्क यातायात सेवा सुरु गरिएको हिमा १ का वडाध्यक्ष रतन बहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “भत्ता बुझ्नकै लागि एक दिनको बाटो हिँड्नु पर्ने बाध्यता थियो । कतिपय ज्येष्ठ नागरिक बिरामी समेत हुन्थे । गाउँमै भत्ता दिन नियमले नमिल्ने भएपछि भत्ता बुझने अवधिभरका लागि निःशुल्क यातायात सुरु गरेका हौ ।”
वडाध्यक्ष शाहीका अनुसार वडा नंं. १ का ४ सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ता बुझ्नका लागि निःशुल्क बस सेवाको व्यवस्थापन गरिएको छ । जसमा २ सय ६१ बालबालिका, १ सय ७३ जना ज्येष्ठ नागरिक, १८ जना एकल महिला र ४ जना अपाङ्गता भएका व्यक्ति गरी जम्मा ४ सय ५७ जनाले भत्ता बुझने अवधिभर निःशुल्क यातायात सेवा प्रयोग गर्न पाउने भएका छन् ।
जिल्लाका आठ स्थानीय तहका ६० वटा वडामध्ये हिमा गाउँपालिका वडा नं. १ ले जनमैत्री कामका रुपमा ज्येष्ठ नागरिकका लागि निःशुल्क बस सेवा शुरु गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्