तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा फोहोरबाट ऊर्जा निकाल्न प्रविधि जडान गर्दै ऊर्जा मन्त्रालय

जुम्ला  । जनसङ्ख्याको चापसँगै बढ्दो सहरीकरणले दैनिक फोहोर बढ्दै गएको छ । धेरै जिल्लामा फोहोरलाई मोहोरमा बदल्न विभिन्न प्रविधि भित्र्याएका छन् । 

कर्णाली प्रदेशमा सहरीकरणसँगै बढ्दो फोहोरलाई व्यवस्थापन गर्न कर्णालीमा विगतका वर्षमा नत बजेट नत नीति नै बनेको पाइन्छ । जसका कारण प्रदेश राजधानी सुर्खेतसँगै जुम्ला, जाजरकोट रुकुम पश्चिम लगायतका जिल्लामा फोहोर व्यवस्थापनको चुनौती चुलिँदै गएको थियो । 

तर फोहोरबाट विद्युत् निकाल्ने लागि कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले नयाँ प्रविधि जडान गर्न लागेको छ । 

मन्त्रालयले मानवीय क्रियाकलापबाट उत्पादन हुने फोहोरबाट विद्युत् उत्पादन गर्नका लागि नयाँ प्रविधि जडान गर्न लागेको हो । 

कर्णाली प्रदेशमा फोहोरबाट ऊर्जा उत्पादनका लागि चालु आव २०७९÷८० मा २० लाख बजेट बिनियोजन भएको छ । 

जलस्रोत तथा ऊर्जा मन्त्रालयबाट पहल गरि फोहोरबाट ऊर्जा निकाल्नका लागि काम सुरु गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।  

देशका अन्य ठाउँमा समेत यो प्रविधिबाट ऊर्जा निकाल्ने काम सुरु भइसकेको छ । मन्त्री सिंह भन्नुभयो,“अत्यन्तै कम ऊर्जा उत्पादन भएको कर्णालीमा छिटोभन्दा छिटो सबैलाई उज्यालोको पहुँचमा पुराउनका लागि फोहोरबाट ऊर्जा निकाल्ने प्रविधि जडान गरि काम सुरु गर्न लागिएको हो ।” 

प्रविधि जडानका लागि पहिलो चरण स्वरूप २५ लाख बजेट विनियोजन छुटाइएको छ । 

मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माका अनुसार अहिले सुर्खेतको वीरेन्द्रनगर,रुकुम पश्चिमको चौरजहारी,जुम्ला खलङ्गा, जाजरकोटको कुदु, दल्ली, कालीमाटी, सल्यानका केही भागमा बसोबास बाक्लो रहेको छ । उल्लेखित जिल्लाको फोहोरलाई ऊर्जामा रूपान्तरण गर्न प्रविधि जडान गर्न मन्त्रालय अघि बढेको मन्त्रीका प्रमुख स्वकीय शर्माको भनाई छ । 

जनसङ्ख्या बाक्लो रहेको ठाउँमा फोहोर व्यवस्थापन चुनौती बनिरहेकोले नयाँ प्रविधि जडान पछि ऊर्जा उत्पादनको कामलाई अघि बढाइने मन्त्रालयले जनाएको छ  । 

कर्णाली प्रदेशका फोहोरबाट ऊर्जा निकाल्न प्रविधि जडान गर्नु पहिलो अभ्यासका रुपमा समेत लिइएको छ । त्यस्तै –पीपीपी) मोडलमा सौर्य प्रविधि जडान कार्य समेत गर्न लागिएको छ । 

विद्युत्को बढ्दो माग र १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भइरहेकोले विभिन्न वैकल्पिक रुपमा विद्युत् उत्पादन गरी जनतालाई उज्यालो उपलब्ध गराउने अभियानलाई समेत मन्त्रालयले जोड दिएको छ । 

स्वच्छ वातावरण, स्वास्थ्य नागरिक र ऊर्जा उत्पादनको लक्ष्यका साथ जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय फोहोर उपभोग गर्ने नीत लिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button