अर्थतन्त्रको संवाहक निजी क्षेत्र: मन्त्री बडू
काभ्रेपलाञ्चोक । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रको संवाहक निजी क्षेत्र भएकाले सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
धुलिखेलमा आयोजित नेपाल प्लाइउड उत्पादन सङ्घको २३ औँ साधारण सभामा उहाँले निजी क्षेत्रलाई सरकारले अर्थतन्त्रको चलायमान इन्जिनका रूपमा लिँदै उत्पादन र निर्यातमा सहयोग गर्ने बताउनुभएको हो ।

“अर्थतन्त्रको चलायमान इन्जिन नै निजी क्षेत्र हो, आयातित अर्थतन्त्रमा मुलुकको भविष्य छैन, त्यसैले उत्पादन र निर्यातमा सरकार उद्योगीलाई सघाउन तयार छ”, मन्त्री बडूले भन्नुभयो । उहाँले निर्यातले वैदेशिक मुद्रा सञ्चिति बढाउने भएकाले नेपालमा निर्यात गर्न सकिने वस्तुको उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
निजी क्षेत्रसँग सहकार्य गर्ने वर्तमान सरकारको घोषित नीतिअनुसार १० वर्षे अभियान सञ्चालन गर्नुपर्ने उहाँको धारणा थियो । सहरी क्षेत्रमा मात्र नभई सात सय ५३ वटै पालिकामा औद्योगिक ग्राम स्थापना हुनुपर्ने उहाँले बताउनुभयो ।
स्थानीय स्तरमा रोजगारीको वातावरण बनोस् भन्ने उद्देश्यले सरकारले नयाँ उद्योगमा लगानी गर्न खोजेको मन्त्री बडूले बताउनुभयो । उहाँले प्लाइउड उत्पादनलाई बढाए सरकार सहुलियत दिन समेत तयार रहेको बताउनुभयो । मन्त्री बडूले ठूला उद्योगलाई जमिनको थ्रेसहोल्ड ११ बिघाबाट बढाइने बताउनुभयो ।
कार्यक्रममा नेपाल वन वनपैदावार उद्योग व्यवसायी महासङ्घका महासचिव माधवमणि हुमागाईँ, भेनियर सङ्घका अध्यक्ष दीपक पाण्डे, नेपाल प्लाइउड उत्पादन सङ्घका वरिष्ठ उपाध्यक्ष होमप्रसाद घिमिरे, संस्थापक अध्यक्ष देवानन्द सरावगी लगायतले कमसल जातका रुख–बिरुवालाई प्राथमिकता दिँदै कच्चा पदार्थ ढुवानीमा तीन तहका सरकारले छुट्टाछुट्टै लिने कर एक स्थानमा मात्रै लिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको थियो ।
सो अवसरमा नेपालमा ८० प्लाइउड उद्योग रहेकोमा छ बन्द अवस्थामा रहेको तथा रु दुई हजार करोड लगानी रहेको प्लाइउड उद्योगमा २५ हजारले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिइएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्