रेडियो नेपाल, बर्दिबासबाट ‘कृषि कार्यक्रम’ सञ्चालन गर्ने सहमति
जनकपुरधाम । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिबासबिच ‘कृषि कार्यक्रम’ सञ्चालन गर्ने सहमति भएको छ ।

विगत वर्षदेखि नै सञ्चालन हुँदै आएको ‘कृषि कार्यक्रम’लाई निरन्तरता दिँदै मन्त्रालयका सचिव डा. नम्रता सिंह तथा रेडियो नेपालका प्रादेशिक प्रसारण कार्यालय बर्दिबासका कार्यालय प्रमुख रामपुकार रामले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
प्रदेशको कृषि क्षेत्रको विकासमा मन्त्रालयले गरेको कामकाज तथा अन्य गतिविधि, कृषि क्षेत्रमा आएको नयाँ प्रविधि, कृषि क्षेत्रमा भएका समस्या र समाधानका विषयमा रेडियो नेपालले कार्यक्रम उत्पादन गरि हप्ताको प्रत्येक शनिबार साँढे चार बजेदेखि ५ बजेसम्म कार्यक्रम प्रसारण गर्ने सहमति भएको हो ।
चालु आर्थिक वर्षमा ५२ वटा कार्यक्रम उत्पादन गरी प्रसारण गर्ने सहमति भएको प्रसारण केन्द्रका प्रमुख रामपुकार रामले जानकारी दिनुभयो ।
विगत वर्षदेखि नै सञ्चालन हुँदै आएको कार्यक्रमबाट मधेश प्रदेशका आम कृषक लाभान्वित भएका कारण कार्यक्रमलाई निरन्तरता दिइएको मन्त्रालयका सूचना अधिकारी मनिष कुमार पालले जानकारी दिनुभयो ।
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सञ्चालन हुने कृषि कार्यक्रम प्रत्येक शनिबार प्रादेशिक प्रसारण केन्द्रको ११४३ किलोहर्ज, एफ एमको १०३ मेघाहर्ज साथै रेडियो नेपाल डट जिओभी डट एन पी मार्फत सुन्न सकिनेछ ।








प्रतिक्रिया राख्नुहोस्