बागमती प्रदेश: ७० करोडको बीउ पुँजी विनियोजन
काठमाडौँ । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि ७० करोडको बीउ पुँजी विनियोजन गरेको छ । १० लाखदेखि एक करोडसम्मको बीउ पुँजी उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको हो ।
मन्त्रालयले परियोजनाको लागतका आधारमा लागतको बढीमा २० प्रतिशतसम्म बीउ पुँजी दिन लागेको छ । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार यसै महिनादेखि काम अघि बढाइँदै छ । किस्ताबन्दीमा रकम फिर्ता गर्ने गरी बीउ पुँजी दिन लागिएको हो । यसका लागि अतिरिक्त शुल्क र व्याज कृषकले तिर्नुपर्दैन तर दुईदेखि पाँच वर्षभित्रमा रकम भने फिर्ता गर्नुपर्छ ।
कृषिमा आबद्ध भएका व्यक्ति, समूह, सहकारीलाई गाई, बाख्रा, भैँसी, बङ्गुर लगायत कृषि फार्म, चिस्यान केन्द्र, प्राङ्गारिक मल कारखाना, दूध प्रशोधन केन्द्र, फलफूल जुस उत्पादन लगायतमा बीउ पुँजी दिइनेछ ।
१० लाखभन्दा बढी बीउ पुँजी माग गर्ने कृषकको बैङ्क ग्यारेन्टी लिएर रकम दिइनेछ । गत वर्षमा दिइएको ५० प्रतिशत अनुदान कटौती गरी बीउ पुँजी थालिएको हो । बीउ पुँजीका लागि भदौ १५ गतेसम्ममा सूचना आह्वान गर्ने गरी तयारी थालिएको छ ।
मन्त्रालयले निर्देशनालय र कृषि ज्ञान केन्द्रमार्फत कार्यक्रम अघि बढाउँदै छ । मन्त्रालयले उत्पादनका आधारमा प्रोत्साहन रकम वितरणका लागि रु ३५ करोड विनियोजन गरेको छ ।
जसमध्ये दूधका लागि रु ३० करोड र उन्नत बीउका लागि रु पाँच करोड विनियोजन गरिएको हो । गत वर्ष प्रदेशका दुग्ध उत्पादक कृषकले प्रतिलिटर रु एक दशमलव ६३ प्रतिशत अनुदान पाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्