तपाईँ सुन्दै हुनुहुन्छः

साउनमा वाणिज्य बैङ्कहरूबाट एक खर्ब बढी निक्षेप बाहिरियो

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा वाणिज्य बैङ्कहरूबाट एक खर्ब रुपैयाँ भन्दा बढी निक्षेप बाहिरिएको छ ।

गत असार महिनाको ३२ गतेदेखि साउन ३१ गतेसम्मको अवधिमा वाणिज्य बैङ्कहरूको निक्षेप एक खर्ब ८ अर्ब रुपैयाँले घटेको हो ।

गत असार ३२ गतेसम्म वाणिज्य बैङ्कहरूमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप साउन ३१ गतेसम्म आइपुग्दा ४४ खर्ब ३३ अर्ब रुपैयाँमा सीमित भएको छ । एक महिनाको अवधिमा एक खर्ब ८ अर्ब रुपैयाँ निक्षेप घटेको नेपाल बैङ्कर्स सङ्घले जनाएको छ ।

साउन लागेयता निरन्तर घटेको निक्षेप अन्तिम साता भने केही सुधार भएको छ साउन २७ गतेदेखि ३१ गतेसम्मको अवधिमा वाणिज्य बैङ्कहरूमा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

साउन महिनामा कर्जा प्रवाह दुई अर्ब रुपैयाँले बढेको छ । असार ३२ गतेसम्म वाणिज्य बैङ्कहरूले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह साउन ३१ गतेसम्म आइपुग्दा दुई अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७७ अर्ब पुगेको सङ्घको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button