बुटवलमा खर्च घटाउन कर्मचारीको सुविधा कटौती
रुपन्देही । बुटवल उपमहानगरपालिकाको कार्यपालिका बैठकले खर्च घटाउनका लागि कर्मचारीका लागि दिँदै आएको सुविधा कटौती गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले नगरको खर्चमा मितव्ययिता अपनाउनका लागि कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको प्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।
बैठकले वार्षिक कार्य सञ्चालन तालिका स्वीकृत गर्दै मङ्सिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरूको सम्झौता गर्ने निर्णय गरेको छ ।
स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरूको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मङ्सिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्ने छ । क्रमागत योजनाहरू मङ्सिरसम्म सम्पन्न गर्ने र जेठभित्र योजनाहरूको सुपरिवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्