तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरका भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

चितवन । चितवनको भरतपुर महानगरपालिकामा आज भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग, चितवन जिल्ला समिति मार्फत चितवन जिल्लाको भरतपुर महानगरपालिका २ मा १२३ भूमिहीन सुकुम्वासी परिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुभएको हो ।

जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने सरकारको प्रतिबद्धता अनुरुप भूमिहीन दलित, भूमिहीन सुकुम्वासीहरूलाई लालपूर्जा वितरणको काम गरिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले यही वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिने गरी काम गरिरहेको पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि हालसम्म २०२१ सालयता नापी भएर पनि लालपूर्जा प्राप्त नगरेका ४९ हजार भन्दा बढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकेको भन्दै यही वर्षभित्र सबै गाउँ ब्लकको पुनः नापी र विशेष नापीको काम सकेर लालपूर्जा वितरण गर्ने काम सम्पन्न गरिने बताउनुभयो ।

मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको हक सुनिश्चित गर्न मन्त्रालयले काम सुरु गरिसकेको र अब कुनै पनि बहानामा हरवाचरवा राखेको र ऋण मुक्त गरेको छैन भने त्यसलाई मुक्त गर्न निर्देशन जारी गरिसकेको पनि मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले २०४९ सालभन्दा अगाडी विभिन्न साझा संस्थाहरूमा किसानले मल लिनका लागि धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेको भन्दै उनीहरूको ऋण मोचन गर्ने आफू लागिपरेको, भू उपयोग नियमावली ल्याई जग्गा वर्गीकरण गर्न लागिएको तथा भूमिको संरक्षण गर्दै उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकासका लागि सरकार प्रतिबद्ध भई लागेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button