तपाईँ सुन्दै हुनुहुन्छः

समावेशी राजनीतिका प्रखर वक्ता नेता गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरी नेपाली राजनीतिका एक अध्ययनशील, चिन्तक, विचारक तथा मुलुकलाई समावेशी सिद्धान्तका आधारमा अघि बढाउनुपर्छ भन्ने प्रखर वक्ताका रुपमा चिनिनुहुन्छ । 

उहाँलाई राजनीतिमा मात्र होइन, अन्य क्षेत्रका जानकारले पनि आ–आफ्नो क्षेत्र तथा समुदायको विषय विज्ञ र नेताका रुपमा स्मरण गर्छन् । 

“नेता गिरी देशको  निधि हुन्, असल समाजवादी नेता पनि हुन्” जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण भन्नुहुन्छ, “नैतिकवान, निष्ठाको राजनीति गर्ने गहन अध्ययनशील र प्रखर वक्ता उहाँ हो ।” 

नेपालको संविधान जारी गर्ने बेलामा मधेसवादी दलहरूले संविधानसभा बहिष्कार गरेका बेलामा नेता गिरीले समावेशी र समानुपातिक प्रतिनिधित्वको विषयलाई लिएर संविधानमा हस्ताक्षर गर्नुभएको थिएन । संविधानमा समावेशी र सङ्घीयता उचित रुपमा नआएको भनेर हामीले विरोध गरेका थियौँ”, त्यस बेलाको गिरीको योगदानलाई सम्झँदै उहाँ बताउनुहुन्छ,  “समावेशी सिद्धान्तलाई अनुसरण नगरेको भन्दै उहाँले हस्ताक्षरसमेत नगरी बहिष्कार गर्नुभएको थियो ।”

नेता कर्णलाई उहाँको निधनले कतिपय आन्दोलन अधुरो हुन पुगेकामा  पीडा बोध भएको छ । मिलनसार र जीवन्त नेता गिरीको निधन भए पनि उहाँका योगदान, कृति, विचार र सिद्धान्त सदा जीवन्त रहन्छन्, उहाँ  भन्नुहुन्छ । 

नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक चित्रलेखा यादवलाई पनि सुरुदेखि नै समतामूलक समाजको निर्माण गर्नुपर्छ भन्ने नेता गिरीको कुराले निकै प्रभाव परेको थियो । “उहाँ समाजवादी धारको व्यक्ति हुनुहुन्थ्यो, दलित, आदिवासी जनजाति, महिला र मधेशीलाई राजनीतिको मूलधारमा ल्याउनुपर्छ भन्ने सोच थियो”–नेत्री यादव सँगै काम गर्दाको अनुभव सुनाउँदै भन्नुहुन्छ,“राजनीतिमा प्रतिनिधित्व उपयुक्त ढङ्गबाट हुनुपर्छ, नैतिक मूल्य र मान्यताको राजनीति गर्नुपर्छ।”

उहाँका अनुसार समावेशी सिद्धान्तबाट नै नेपाललाई अघि बढाउनुपर्छ । निम्न वर्गलाई माथि उठाउनुपर्छ भन्ने नेता गिरीको सोच थियो । “उहाँको विचार र सिद्धान्तलाई पार्टीले अनुशरण गरेको छ, समावेशी सिद्धान्तकै आधारमा मुलुक अघि बढेको छ, यसमा नेता गिरीको पनि  देन छ ।” प्रमुख सचेतक यादवका अनुसार नेता गिरी सदा जीवन र उच्च विचारको धनी हुनुहुन्थ्यो । 

समाजवादी धारको प्रखर वक्ता हुनुहुन्थ्यो । “गिरीले राष्ट्र र नेपालीलाई मार्गनिर्देश गरेर बिदा लिनुभएको छ”–उहाँ थप्नुहुन्छ,“नेता गिरीले देखाएको बाटो अनुशरण गरी नीति निर्माण गरेर अघि बढ्नुपर्छ ।”

अधिकारकर्मी दुर्गा सोव  स्व. गिरी नेपाली काँग्रेसको मात्र नेता नभएर यो युगको सबैको नेता हुन् भन्नुहुन्छ। “हेर्दा नेपाली काँग्रेसको नेता जस्तो देखिए पनि गिरी सबैको नेता हुनुहुन्थ्यो” उहाँ भन्नुहुन्छ, “हरेक विषय र विशेष गरी समावेशीको विषयमा प्रष्ट विचार प्रस्तुत गर्ने  नेता नेपालमा कमै छन्, भौगोलिक विविधता, जातीय विविधताको विषयमा पनि नेता गिरी स्पष्ट धारणा राख्नुहुन्थ्यो ।” अधिकारकर्मी सोवका अनुसार युवा, वृद्धा, सामाजिक क्षेत्रमा काम गर्ने हरेक मान्छेले उहाँलाई सम्झन्छन् । नेता गिरीजस्तो नेता पाउन गाह्रो छ । 

उहाँ भन्नुहुन्छ, “जातीय भेदभाव र छुवाछुत भनेको वेदको कलङ्क हो, त्यो सच्याउनुपर्नेमा जोड दिनुहुने र दलित अधिकारको विषयमा प्रष्ट विचार व्यक्त गर्नुहुने  बौद्धिक विचारक गुमाउनुपर्दा  अभाव खड्किएको महसुस भएको छ ।”

सिरहाको बस्तीपुर स्थायी घर भई हाल भीमसेनगोला, काठमाडौँ बसोबास गर्दै आउनुभएका नेता गिरी अध्ययन, अनुसन्धान र लेखनका साथै राजनीतिक आन्दोलनमा क्रियाशील हुनुहुन्थ्यो । 

उहाँको मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button