तपाईँ सुन्दै हुनुहुन्छः

आज ऐतिहासिक पाल्पा भगवती जात्रा मनाइँदै

पाल्पा।ऐतिहासिक भगवती जात्रा आज पाल्पामा मनाईदैछ । पश्चिम नेपालकै ठूलो जात्राको रुपमा रहेको श्री ७ रणउजेश्वरी भगवती जात्रा धुमधामले मनाउन लागिएको हो ।

विगतमा कोरोना महामारीको कारण सीमित घेरा भित्र मनाइएको जात्रा यस बर्ष धुमधामले बनाउन लागिएको हो । नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हाँसिल गरेको खुसीयालीमा विजयी स्वरूप पाल्पामा भगवतीको जात्रा निकाल्ने गरिन्छ । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिंह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन तीनै आराध्यदेवी भगवतीको आराधना र भाकल गरि विजय प्राप्त गरेको विश्वास स्वरूप सिन्दूर यात्रासहित भगवतीको रथ निकाल्ने गरिएको हो ।

कर्णेल थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए। तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अङ्ग्रेजलाई परास्त गरेका थिए । युद्धमा निस्कनुअघि कर्णेल थापाले विजय भएमा ठूलो मन्दिर बनाई हर्ष बढाई सहित सिन्दूर जात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए। आफ्नो भाकल पूरा भएपछि कर्णेल थापाले मन्दिर बनाई यो जात्रा निकाल्न थालिएको इतिहास रहेको ईतिहासबिद निर्मल श्रेष्ठले बताउनुभयो ।

विसं १८७७ सालदेखि हरेक वर्ष तानसेनमा कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा धुमधामका साथ मनाईन यो जात्रा नेपाल अङ्ग्रेज युद्धसँग जोडिएको हुँदा राष्ट्रिय महत्त्वको भनेर चर्चा हुँदै आएको छ । जिल्लामा मनाइने जात्रा एवं उत्सव मध्येको सबैभन्दा ठूलो रणउजीरेश्वरी भगवती जात्राको दिन तानसेनमा सरकारी बिदासमेत दिने गरिएको छ । भने भगवती जात्रालाई राष्ट्रिय उत्सबको रुपमा मान्यताका लागी संसदमा समेत कुरा उठिसकेको छ ।

यो जात्रा तानसेनमा स्थानीय रुपमा मनाइँदै आएको भए तापनि यो जात्राको राष्ट्रिय महत्त्व रहेको छ । जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा लिइने गरिएको छ । तानसेनको भगवती टोलस्थित भगवती मन्दिरबाट रथलाई शुभ साइतमा निकालेर बाजागाजाका साथ सुरु हुने रथयात्रा तानसेन दरबार परिसर हुँदै बजार परिक्रमा गराइन्छ ।

नेपाली सेनाले पञ्चबली दिई विशेष पूजाअर्जना गरी रथयात्राको बजार परिक्रमापछि भगवती मन्दिर परिसरमै पुगेर विसर्जन गर्ने गरिन्छ । पाल्पा सदरमुकाम तानसेनमा भव्य रुपमा मनाइने भगवती जात्रा हेर्न पाल्पाका गाउँ गाउँबाट र छिमेकी जिल्ला गुल्मी,रुपन्देही,अर्घाखाँची तथा स्याङ्जाबाट समेत आउने गर्दछन् ।

काठमाडौँमा धार्मिक संस्कृति सँग जोडिएका विभिन्न खालका जात्राहरूलाई महत्त्वका साथ लिने गरिन्छ । राष्ट्रपतिले समेत नजर गर्ने परम्परा रहेको भएपनि पछिल्लो समयमा ऐतिहासिक महत्त्वको यो जात्रामा रौनकता समेत कम हुन थालेको स्थानीय बत्ताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button