तपाईँ सुन्दै हुनुहुन्छः

अछामका स्थानीय तहलाई प्रदेश सरकारबाट ५ करोड समपूरक

अछाम । अछामका स्थानीय तहको लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयबाट विशेष र समपूरक गरी करिब ५ करोड रुपैयाँ प्राप्त भएको छ । चालु आर्थिक बर्ष २०७९/८० मा समपूरक अनुदान तर्फ २ करोड ७० लाख २० हजार र विशेष अनुदान तर्फ २ करोड गरी कुल ४ करोड ७० लाख २० बजेट प्राप्त भएको हो । 

समपूरक अनुदान तर्फ जिल्लाका ७ वटा स्थानीय तह र विशेष अनुदान तर्फ ८ वटा पालिकाले अनुदान प्राप्त गरेका छन् । समपूरक अनुदानमा जिल्लाको पन्चदेवल विनायक नगरपालिका, मेल्लेख र ढकारी गाउँपालिका अनुदान पाउनबाट वञ्चित भएका छन् । यस्तै विशेष अनुदान तर्फ पन्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकाले अनुदान प्राप्त गर्न सकेनन् । पन्चदेवल विनायक नगरपालिका भने समपूरक र विशेष गरी दुवै अनुदानबाट वञ्चित भएको छ । 

जिल्लामा सबैभन्दा बढी समपूरक अनुदान प्राप्त गर्ने रामारोशन गाउँपालिकाले ८१ लाख ४० हजार र कम प्राप्त गर्ने चौरपाटी गाउँपालिकाले २० लाख पाएको छ । ६ वटा पालिकाले एक÷एक योजनाको लागि अनुदान पाएका छन् भने  रामारोशन गाउँपालिकाले तीन वटा योजनाको लागि अनुदान पाएको छ । रामारोशन गाउँपालिका वडा नं. २ चाफामाण्डौं चिलयात्रा वस्ति विकासको लागि ४४ लाख, वडा नम्बर १ मलातिकोट स्थित लघुजलबिद्युत योजनाको लागि २४ लाख ७३ हजार र वडा नम्बर २ चाफामाण्डौंको कैलाश खोला लघुजलबिद्युत योजनाको लागि १२ लाख ६७ हजार गरी ८१ लाख ४० हजार रुपैंया प्राप्त भएको छ । 

चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकटमा निर्माण हुने चौमुखी पतलचौर ग्रामीण सडक निमार्णको लागि २० लाख रकम प्राप्त गरेको छ ।  त्यस्तै तृर्माखाँद गाउँपालिका वडा नम्बर १ को भुलु राहापा सडक निमार्णको लागि ६० लाख, वान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ कोटघर गाँज्रा सडक कालोपत्रेको लागि ३७ लाख ५० हजार, मंगलसैन नगरपालिका वडा नम्बर १४ कालागाउँको खडखडे खानेपानी योजनाको लागि २५ लाख ३० हजार रुपैयाँ प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट विनियोजित भएको छ ।

यस्तै साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनाथमा निर्माणाधीन सूर्यचन्द्र व्यवसायी नमुना मावि छात्रावास निमार्णको लागि २४ लाख र कमलबजार नगरपालिकाको हल निमार्णको लागि २२ लाख रकम विनियोजित भएको छ । समपूरक अनुदान प्राप्त गर्ने पालिकाले आधा रकम व्यहोनु पर्नेछ । 

यस्तै विशेष अनुदान तर्फ जिल्लाका ८ वटा स्थानीय तहले समान २५/२५ लाखका दरले २ करोड अनुदान प्राप्त गरेका छन् । साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको दोगाडे खानेपानी योजना, मेल्लेख गाउँपालिका वडा नम्बर १ ऋषिदहको भवन निमार्ण, चौरपाटी गाउँपालिका वडा नम्बर ३ गगुडामा वृहत् खानेपानी योजना अन्तर्गत एक घर एक धारा निमार्ण र बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैन स्वास्थ्य चौकी भवन निमार्णको लागि २५/२५ लाख रुपैयाँ प्राप्त भएको छ । 

यस्तै रामारोजन गाउँपालिका वडा नम्बर ७ सुतारका एैडीओड वान्नीविस्ना सडक निमार्ण, मंगलसैन नगरपालिकामा खोप व्यवस्थापन रेफ्रीजेरेटर स्थापना, ढकारी गाउँपालिका वडा नम्बर १ ढकारीमा खडिका रुख तल्लो बासल्ला खानेपानी योजना र कमलबजार नगरपालिका वडा नम्बर ३ वयालास्थित नेपाल राष्ट्रिय मावि भवन निमार्णको लागि पनि समान २५/२५ लाख रुपैयाँ प्राप्त भएको छ । समपूरक अनुदान प्रदेश सरकार र स्थानीय सरकारले आधा–आधा बजेट भएपनि विशेष अनुदानका योजना भने प्रदेश सरकारको लागतमा निर्माण हुनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button