मानिस खाने देवीलाई बजार घुमाउने भैरव–कुमारी जात्रा

दोलखा। मानिस खाने देवीलाई तान्त्रिक विद्याबाट नियन्त्रण गरेपछि दोलखामा सुरु भएको भैरव– कुमारी जात्रा यो वर्ष बिहीबार रातिबाट सकिएको छ । पाँच दिनसम्म दोलखा बजारको विभिन्न मठमन्दिर रहेको स्थानमा प्रदर्शन गरिने यो जात्रामा भैरव– कुमारीको दर्शन र पूजा गर्दा सन्तान प्राप्ति, रोग व्याधि नलाग्ने र सोचेको काम पुरा हुने जनविश्वास रहँदै आएको छ ।
जात्राको अवधिमा मनोकाङ्क्षा पुरा होस भन्दै महिलाहरू व्रत समेत बस्ने गरेको स्थानीयको भनाई छ । गुठियार दाजु– भाइहरूले हरेक वर्ष पालैपालो जात्रा व्यवस्थापनको लागि आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउनु पर्ने प्रचलन समेत रहेको स्थानीयको भनाई छ ।
जात्राको सुरुवात कहिलेदेखि भयो भन्ने एकिन तिथि थाहा नभए पनि दोलखामा किराँत राज्यकालबाटै यो जात्राको सुरुवात भएको जनविश्वास रहेको संस्कृतका अध्येता स्थानीय तीर्थनारायण जोशीले बताउनु भयो । केही केहीले भने मल्लकालीन राजा हरसिंह देवको पालोबाट भैरव– कुमारी जात्रा सुरु भएको विश्वास गर्दै आएको पनि जोशीले बताउनु भयो ।
किम्बदन्ती अनुसार दोलखा राज्यमा दुङ्गल टोलका सिन्दु र विन्दु नाम गरेका दुई तान्त्रिक दाजुभाइ थिए । उनीहरू दैनिक तामाकोशी नदिमा गएर त्याहाँको जल (सुद्ध पानी) भीमेश्वर मन्दिरमा ल्याई चढाउँथे । यो क्रममा तान्त्रिक दाजुभाइले तामाकोशी किनारमा तीन दिदीबहिनी खेलिरहेको देखे । तान्त्रिक दाजुभाइले उनीहरू भगवती भएको थाहा पाएपछि उनीहरुलाई आफ्नो विद्याबाट बसमा पारेर दोलखा बजारमा ल्याए ।

दोलखा बजारमा ल्याएपछि उनीहरूकै चाहना अनुसार जेठी त्रिपुरा सुन्दरी भगवतीलाई दोलखामै, माइली कालिञ्चोक भगवतीलाई गौरीशङ्कर हिमाल देखिने कालिञ्चोकमा र कान्छी बालकुमारी भगवतीलाई जेठी दिदीसँग दोलखामै राखियो ।
जेठी र कान्छी दिदी बैनी आएपछि दोलखामा हरेक दिन मानिस हराउन थाले । मानिस हराउने रहस्य खोज्दै जाँदा चुलबुले स्वभावको बालकुमारीले मानिस खानेगरेको थाहा पाएपछि तान्त्रिकले बालकुमारीलाई नियन्त्रणमा लिने उपाय खोजे । यही क्रममा तान्त्रिक भाइ विन्दुले बालकुमारी स्थान (कोविदेउ) मा सिँढी सहितको एउटा ठूलो खाल्टो बनाएर बालकुमारीलाई फकाएर उनीसँग लुकामारी खेल्न थाले ।
लुकामारी खेल्दा विन्दुले तान्त्रिक विद्याबाट आफूलाई पिठोको सिक्री बनाएर बाँधे भने बालकुमारीलाई फलामको सिक्रीले बाँधिदिए । अनि आफु पिठोको सिक्री फुकाएर खाल्डोबाट माथि निक्ली बालकुमारीलाई सोही खाल्डोमा थुनिदिएको किम्बदन्ती प्रचलनमा रहेको स्थानीय तीर्थनारायण बताउनु हुन्छ ।
बालकुमारीलाई खाल्डोमा थुनेपछि उनी धेरै रुन लागिन र तान्त्रिकले वर्षमा तीन दिन भैरवलाई अघि लगाएर बजार जान अनुमति दिए । बालकुमारीलाई एक्लै पठाउँदा फेरी मानिस खाने डरले भैरवलाई अघि लगाएरमात्र जान दिइएको विश्वास गरिन्छ । सोही अनुसार भैरव– कुमारी जात्रा सुरु भएको जोशीले बताउनु भयो । भैरव भीमेश्वरको प्रतीक (महादेव) हुन् भने कुमारी उनै बालकुमारी हुन् । यो जात्राको क्रममा भैरव– कुमारीसहित १३ जना सेनामेना समेत हुने गरेका छन् । विगतमा भैरव– कुमारी जात्रा प्रदर्शनमा भीमेश्वरको गहना पहिरिने गरेको भएपनि अहिले सुरक्षाका कारण त्यो क्रम बन्द भएको जोशीले बताउनु भयो ।
भैरव कुमारी जात्रा हरेक वर्ष गाईजात्राको भोलिपल्टबाट सुरु हुने गरेको स्थानीय समाजसेवी भरत नारायण प्रधान बताउनु हुन्छ । सुरु– सुरुमा तीन दिन प्रदर्शन गरिने यो जात्रा अहिले पाँच दिन प्रदर्शन गर्न लागिएको भरत नारायणले बताउनु भयो । यो जात्रा विगतमा पिङ्गल टोलबाट निकालिने भएपनि अहिले भने तीन वर्ष पिङ्गल टोलबाट र तीन वर्ष टँसिचा टोलबाट निकालिने गरिएको छ ।
किम्बदन्ती अनुसार भैरव– कुमारी जात्रा पहिलो दिन भूतले हेर्ने, दोस्रो दिन देवी देवताले हेर्ने, तेस्रो र चौथो दिन आगन्तुकले हेर्ने र पाँचौँ दिन दोलखाका स्थानीयले हेर्ने गरिन्थ्यो । तर अहिले भने हरेक दिन स्थानीय तथा आगन्तुक सबैले हेर्ने गरेको जोशीको भनाई छ ।
भैरव– कुमारी जात्राको लागि छुट्टाइएको गुठीको जग्गामा शिवभक्तिहरु रहेकोले भैरव, कुमारी र अन्य सेनामेना गरी १३ जना नै शिवभक्ति थरका मानिस मात्र नाच्नुपर्ने प्रचलन रहेको संस्कृतका अध्येता स्थानीय जोशीले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्