तपाईँ सुन्दै हुनुहुन्छः

अभिनयको साइकल यात्रा: १९९ दिनमा ७७ जिल्ला

दोलखा । दोलखा कालिन्चोक गाउँपालिकाका युवा अभिनय कार्कीले १ सय ९९ दिनमा साइकलबाट नेपालको ७७ जिल्लाको भ्रमण सकेका छन् । गत २०७८ पुस १५ गते चरिकोटबाट सुरु भएको उनको साइकल यात्रा मङ्गलवार चरिकोटमै आएर सम्पन्न भएको हो ।

देशको ७७ जिल्लामा पुगेर दोलखाको पर्यटन प्रवर्द्धन गर्ने तथा लागू औषधविरुद्ध जनचेतना मूलक अन्तर्क्रिया गर्ने उद्देश्यसहित कालिन्चोक गाउँपालिका ३ लामिडाँडाका युवा अभिनय कार्कीले एक सय दिने साइकल यात्रा सुरु गरेका थिए ।

साइकलमा देखिएको समस्या, विभिन्न जिल्लाको प्राकृतिक सुन्दरताबारे खोज, वर्षाको समय आदीका कारण आफ्नो यात्रा ९९ दिन लम्बिएको अभिनय कार्कीले बताए ।

‘फ्रस्टेसन, डिप्रेसन र लागू औषध दुर्व्यसनलाई त्यागौँ, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौँ’ भन्ने नारा सहित सुरु भएको आफ्नो साइकल यात्रा निक्कै उपलब्धि मूलक रहेको कार्कीको भनाई छ । आफूले देशको ७७ जिल्लाका विभिन्न ठाउँमा पुगेर नेपालको प्राकृतिक सुन्दरता नियाल्न पाएको कार्कीले बताए ।

आफूले ७७ जिल्लामा देखेको र भोगेको समग्र विषय समेटेर डकुमेन्ट्री बनाउने र पुस्तक प्रकाशनको तयारी समेत गर्ने अभिनय कार्कीले बताए ।

अब सगरमाथा आरोहण र विश्व साइकल यात्राको तयारी गर्ने कार्कीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button