तपाईँ सुन्दै हुनुहुन्छः

चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउनमा प्रहरीको भूमिका निष्पक्ष हुने : गृहमन्त्री साह

जनकपुरधाम । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आगामी मंसिर ४ गते हुने चुनावलाई स्वतन्त्र, निष्पक्ष तथा मर्यादित बनाउनमा प्रहरी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुने बताउनु भएको छ । 

गृहमन्त्री साहले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखा र प्रदेश प्रहरी कार्यालयको आयोजनामा “प्रदेश स्तरीय अपराध अनुसन्धान सम्बन्धी समीक्षा गोष्ठी”को आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव सफल बनाउनमा प्रहरी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले अपराधको नयाँ शैली तथा तरिकाहरूको अनुसन्धानमा नेपाल प्रहरीले पनि क्षमताको विकास गर्दै जानु पर्ने धारणा पनि राख्नु भयो ।  

मंसिर ४ गतेको चुनावलाई भयरहित बनाउन प्रहरी तयार : महानिरीक्षक सिंह 
नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भयरहित र निष्पक्ष बनाउनमा नेपाल प्रहरीले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । 

उहाँले भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उद्देश्य रहेको बताउँदै त्यसका लागि सङ्गठन पूर्ण रुपमा तयार भएको बताउनु भयो । 

प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेका बीच कहिलेकाहीँ एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तीन वटै तहका बीचमा समन्वय र सहकार्य राम्रो हुनु पर्ने धारणा राख्नु भयो । 

अपराध अनुसन्धानलाई सहज बनाउन नै प्रदेश स्तरीय गोष्ठीको आयोजना गरेको प्रहरी महानिरीक्षक सिंहले बताउनु भयो । अहिले धेरै अपराध प्रविधिसँग जोडेर हुन थालेको भन्दै उहाँले प्रदेशस्तरमै साइबरसम्बन्धी उजुरी दर्ता गर्ने व्यवस्था मिलाउन प्रदेशका गृह तथा सञ्चार मन्त्रीसँग आग्रह गर्नु भयो । 

मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक मसाउद आलम खानको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र कुमार झा, मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो सहितका प्रहरीका उच्च अधिकारीहरूको सहभागिता रहेका थिए । कार्यक्रममा मधेश प्रदेशका ८ जिल्लाका प्रहरी प्रमुखहरूको पनि सहभागिता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button