तपाईँ सुन्दै हुनुहुन्छः

‘चट्याङबाट हुने क्षतिको न्यूनीकरण गर्न अध्ययन अनुसन्धान आवश्यक’

बनेपा । काभ्रेका ग्रामीण क्षेत्रमा बढी मात्रामा चट्याङबाट मानवीय तथा भौतिक क्षति हुने गरेको भन्दै त्यसको लागि सम्बन्धित निकायबाट क्षतिको विषयमा अध्ययन अनुसन्धान गरी न्यूनीकरणको उपाय खोज्न आग्रह गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको परामर्श बैठकमा जिल्लाका खानीखोला, महाभारत, बेथानचोक, चौरीदेउराली र रोशी गाउँपालिकाका अध्यक्षहरूले चट्याङबाट धेरै क्षति हुने भएकाले त्यसको बारेमा सम्बन्धित निकायबाट अध्ययन अनुसन्धान गरी न्यूनीकरणको कार्यलाई अगाडि बढाउन प्रक्रिया थालनी गर्न आग्रह गर्नुभएको छ ।

file photo

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विज्ञहरुबाट खानीखोला र महाभारत गाउँपालिकाको विभिन्न क्षेत्रमा चट्याङबाट हुने क्षतिको अध्ययन गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।

सो क्रममा उहाँले वित्तीय आयोगले पनि कम जनसङ्ख्या भएकोलाई कम बजेट र बढी जनसङ्ख्या भएको पालिकालाई बढी बजेट पठाउने नीति भएकाले कम जनसङ्ख्या भएको र आन्तरिक स्रोत समेत कम भएका ग्रामीण दूरदराजका गाउँपालिकामा विपद् न्यूनीकरणको क्षेत्रमा बजेट व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो । विपद्को पूर्व तयारीसम्बन्धी बैठकमा औपचारिक रूपमा मात्रै छलफल गर्नेभन्दा पनि गहिरो ढङ्गले छलफल गर्दै ठोस योजना निर्माण गर्ने र सम्बन्धित निकायसम्म त्यसको निराकरणका लागि पहल एवं व्यवस्थापन गर्ने काममा जुट्न उहाँले आग्रह गर्नुभयो ।

बैठकमा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले विकटका नागरिक विपद्बाट बढी पीडित हुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्थामा सङ्घ/संस्था सहयोगका लागि गाउँको दूर दराजमा भन्दा पनि सहर केन्द्रित हुने गरेको बताउनुभयो । विपद् सबैको साझा विषय भएकाले समाधान गर्न सबैको हातेमालो त्यतिकै आवश्यक रहेको भन्दै उहाँले सम्भव भएका पालिका, सङ्घ/संस्था र सहयोगी निकायबिच समन्वयात्मक कार्य गर्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा र बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले आफ्ना पालिकाका उच्च भेगका बस्तीमा चट्याङको समस्या भएकाले त्यसको न्यूनीकरणतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो । अधिकांश गाउँपालिकामा पानी पर्न थाल्ने बित्तिकै त्रास हुने अवस्था भएकाले त्यसमा सबै मिलेर समस्या समाधान गर्नका लागि आवश्यक रहेको उहाँहरूले बताउनुभयो ।

चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंले वडा नं २ नाग्रेगगर्चेको दूतीमा रहेको पहिरो बर्सेनि चलिरहेका कारण त्यसबाट विपद्को समस्या भोगिरहनु परेकोले त्यसको न्यूनीकरण गर्न सम्बन्धित निकायबाट सहयोगको अपेक्षा गर्नुभयो ।

जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दीपक गौतमले समस्या पर्दा आत्तिने र कम हुँदै जाँदा बिर्सने संस्कारले गर्दा झन् समस्या निम्तिने गरेको बताउनुभयो ।

बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विपद् पूर्वतयारी, विपद् पुनः स्थापना, विपद् प्रतिकार्य र सामाजिक पुनः स्थापना तथा अनुकूलनका कार्य सञ्चालन गर्नका लागि आवश्यकताअनुसार पालिकाको समन्वयमा काम गर्न आग्रह गर्नुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button