माछापालन अनुदानमा झण्डै ४ करोड खर्च
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा माछापालन व्यवसायका लागि सरकारी स्तरबाट करिब चार करोड रकम खर्च भएको छ ।

जिल्लाको विभिन्न स्थानमा ट्राउट माछापालनका लागि पछिल्लो चार आर्थिक वर्षभित्र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गा र पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरबाट जिल्लाका १२ वटा फर्मलाई तीन करोड ९६ लाख ५९ हजार रुपियाँ अनुदान वितरण गरिएको हो ।
अनुदान प्राप्त गर्नेमा महाकुलुङ गाउँपालिका १ को महाकुलुङ रेन्बो ट्राउट माछापालन ब्लक समिति, खुम्बु पासाङल्हामु गाउँपालिका १ को खुम्बु कृषि व्यवसाय तथा माछापालन समूह, सोलुदूधकुण्ड नगरपालिका ९ को सोलु रेन्बो ट्राउट माछापालन समूह, थुलुङ दूधकोशी गाउँपालिका ७ को थुलुङ महाकुलुङ रेन्बो ट्राउट ब्लग विकास समूह र सोलुदूधकुण्ड नगरपालिका १० को सगरमाथा बहुउद्देश्यीय कृषि तथा पशु फर्म रहेका छन् ।
त्यस्तै, सोलुदूधकुण्ड नगरपालिका ९ को सुजन शशी कृषि तथा पशु फर्म, खुम्बु पासाङल्हामु गाउँपालिका १ को सगरमाथा कृषि व्यवसाय तथा माछा केन्द्र र थुलुङ दूधकोशी गाउँपालिका ९ को राजा बहुउद्देश्यीय ह्याचरी कृषि तथा पशु फर्म, माप्य दूधकोशी गाउँपालिका २ को मामा भान्जा बहुउद्देश्यीय कृषि तथा माछा केन्द्र, सोलुदूधकुण्ड नगरपालिका १ को हिमाली कृषि तथा रेन्बो ट्राउट माछा फर्म, सोलुदूधकुण्ड नगरपालिका ४ को हिमाली रेन्बो ट्राउट तथा लोकल माछा फर्म र थुलुङ दूधकोशी गाउँपालिका १ को ज्योति बहुउद्देश्यीय कृषि तथा पशु फर्म रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुङ्गा सम्पर्क केन्द्र सोलुखुम्बुले जनाएको छ ।
उक्त फर्महरूमध्ये केहीलाई ७५ र केहीलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको केन्द्रका प्रमुख भिमलाल तामाङले जानकारी दिनुभयो ।
तर, माछा पालनका लागि राज्यको करोडौँ लगानी भए पनि जिल्लामा सीमित फर्महरूले मात्रै उत्पादन गर्न सकेका छन् । कतिपयले अनुदानका लागि सामूहिक फर्म दर्ता गरे पनि अनुदान प्राप्त भएपछि व्यवसाय सञ्चालन नगरेको पाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्