वासस्थान सर्दै छन् मयूर

दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित लामोसाँगु– जिरी सडक खण्डको बिरुवा आसपास खेतका गरा र फाँटहरूमा नाचिरहने मयूरका हुल अहिले देख्न छोडिएको छ ।
“वसन्त ऋतु र वर्षा ऋतुको समयमा सडक आसपासनै मयूर नाचेको देख्न सकिन्थ्यो, केही बर्ष यता भने फाट्टफुट्ट मयूर देख्न पनि मुस्किल बनेको छ”– वडा नम्बर ५ का वडा सदस्य एवं किराँत छापका स्थानीय बालकृष्ण कुँवरले भन्नुभयो ।
लामोसाँगु– जिरी सडक खण्डको चरिकोट– जिरी सडक स्तरोन्नतिको काम सुरु भएपछि डोजर, क्रसर को आवाज र मानिसहरूको अत्यधिक चहलपहलले मयूरहरू अन्यत्र लागेको वडा सदस्य कुँवरको बुझाई छ ।
केही दशक अघिदेखि सामुदायिक बनको सक्रियतामा मयूरको संरक्षण सुरु भएपछि बिरुवा आसपास सिताकुण्ड सामुदायिक वन क्षेत्रमा दुई सयभन्दा बढी मयूर रहेकोमा अहिले १५÷२० वटा मयूर देख्न पनि मुश्किल भएको बिरुवाका स्थानीयको भनाई छ ।
सिताकुण्ड सामुदायिक वनमा रहेका मयूरहरू अहिले पारी नाम्दुको वन क्षेत्र र वडा नम्बर ५ कै बुढा भीमसेन सामुदायिक वन तथा सिमपानी खहरे सामुदायिक वन क्षेत्रतिर सरेको वडा सदस्य कुँवर बताउनुहुन्छ । यसरी वासस्थान सर्दा विभिन्न कारणले मयूरको सङ्ख्या घट्दै जाने खतरा रहेको स्थानीय बताउँछन् ।
बिरुवा क्षेत्रमा मयूरको सङ्ख्या घट्दै गएपछि वडा नम्बर ५ ले मयूर पार्क निर्माण गरी मयूर प्रजनन् लगायतको योजना अघि सारेको छ ।
मयूर पार्कलाई व्यवस्थापन गर्दै मयूर संरक्षण र प्रजननको लागि वडाले अभियान सुरु गरेको वडा अध्यक्ष बासु श्रेष्ठ बताउनुहुन्छ । मयूरका दुई प्रजाति हुने गरेका छन्, भारतीय नीलो मयूर र हरियो मयूर । बिरुवा आसपासका सामुदायिक बनमा हरियो मयूर पाईने स्थानीय बताउँछन् ।

डढेलोका कारण घरमा पुगेको दुई जोडी (चार वटा) मयूरलाई संरक्षण दिइरहेका वडा नम्बर ५ का स्थानीय युवा प्रज्वल बुढाथोकी मयूरको सङ्ख्या वृद्धि र संरक्षणको लागि वडाको योजनामा साथ दिन आफ्नो घरमा रहेको चार वटा मयूर पार्कमा रहेको क्यारेजमा राख्न वडालाई हस्तान्तरण गर्ने बताउनुहुन्छ ।
“चैत्र तिर सामुदायिक वन क्षेत्रमा डढेलो लाग्दा चारवटा मयूरका बच्चा माउबाट छुट्टिएर हाम्रो घर भएको तिर आएको थियो । हामीले यिनीहरू लाई संरक्षण दिएर कष्टसँग हुर्काएर ५÷६ महिनाको बनाएका छाँै, अब हामी वडाको अभियानमा साथ दिँदै मयूर पार्कको क्यारेजमा राख्न हस्तान्तरण गर्छौ”– स्थानीय युवा प्रज्वलले भन्नुभयो ।
वडा अध्यक्ष बासु श्रेष्ठ प्रज्वलले हस्तान्तरण गर्ने मयूरलाई केही समय पार्कको क्यारेजमा रेखदेख गर्दै संरक्षण दिने र ठूलो भएपछि उनीहरूको प्राकृतिक वासस्थानमा नै छोड्ने बताउनुहुन्छ । “हामी पार्कमा प्रजननको व्यवस्थापन समेत गर्छौ”, वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
मयूरको प्रजनन् समय बसन्त ऋतु र वर्षा ऋतुमा पोथी मयूर (पिहेन) लाई फकाउन भाले मयूर (पिकक) रंगिविरंगी प्वाँख खोलेर नाच्ने गर्छ, यसले पार्क घुम्न आउने पर्यटकलाई आकर्षण गर्ने वडा अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । प्रजनन् अभियानले मयूरको संरक्षणमा समेत सहयोग पुग्ने वडा अध्यक्ष श्रेष्ठको बुझाई छ ।
मयूर पालनको विषयमा कानुनमा स्पष्ट व्यवस्था भने देखिँदैन । केही समय अघि मन्त्री स्तरीय निर्णयबाट वन्यजन्तु पाल्न पाउने गरी कार्यविधि बनेको भएपनि त्यसको व्यवस्थित र व्यवहारिक कार्यान्वयन नभएको मनास्लु संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाह बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्