तपाईँ सुन्दै हुनुहुन्छः

गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल खेलाडी सापकोटालाई सम्मान

भक्तपुर । गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल टेबुल टेनिस खेलाडी गोमा सापकोटालाई जिल्ला खेलकुद विकास समिति भक्तपुरले सम्मान गरेको छ ।

काभ्रेको पनौतीमा जन्मेर भक्तपुरको सूर्यविनायक ८ मा स्थायी बसोबास गर्दै आएकी सापकोटालाई आज समितिद्वारा आयोजित सम्मान कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले सम्मान गर्नुभयो । 

सापकोटाले टेबुल टेनिस बललाई १ मिनेटमा भुईँमा नखसाई २ सय ४९ पटक हानेर गिनिज बुकमा विश्व कीर्तिमान राख्न सफल हुनु भएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले खेलकुदको माध्यमबाट देशको पहिचान कायम हुने मात्र नभई आर्थिक उन्नति हुने बताउनुभयो । 

राज्यले खेलकुदको विकास गर्नुको विकल्प नभएको बताउँदै उहाँले यसका लागि तीनै तहका सरकारले प्रभावकारी र समन्वयात्मक कार्य गर्नुपर्ने बताउनुभयो ।

समितिले सिफारिस गरेका आधारमा पूर्वाधार निर्माणका काममा समेत मन्त्रालय अघि बढेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले स्थानीय सरकार खेलको विकासमा उदासीन रहेकाप्रति दुख व्यक्त गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका नेकपा(माओवादी केन्द्र)का जिल्ला संयोजक सुनिल बासु, जिल्ला खेलकुद विकास समितिका पूर्व उपाध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेत, जिल्ला युवा विकास समितिका अध्यक्ष सुवास कार्की लगायतले सबै मिलेर भक्तपुरको खेलकुदलाई विकासको गति दिनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा सम्मानित खेलाडी गोमा सापकोटाले सम्मानले खेल्नमा थप प्रोत्साहन मिलेको बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाले खेलकुदको विकास र खेलाडीको हितको लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू अघि सारिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button